नवौँ डाँफे कपः रेसिङ साहारा क्लब कोहलपुर सेमिफाइनलमा



खजुरा ।
बाँकेको खजुरामा जारी नवौँ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगितामा शनिबार भएको खेलमा रेसिङ साहारा क्लब कोहलपुर विजयी भएको छ । रेसिङ साहाराले आयोजक टिम न्यु डाँफे स्पोर्टस क्लब बीलाई पेलान्टी सुट आउटमा हराएको हो ।

योसँगै रेसिङ साहाराले सेमिफाइनल यात्रा तय गरेको छ । खेल अवधिभर दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । पेलान्टी सुट आउटमा रेसिङ साहारा ६–५ गोल अन्तरले विजयी बनेको छ । खेलको म्यान अफ द म्याच रेसिङ साहारा कोहलपुरका गोलकिपर प्रकाश कार्की भए ।

प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार म्यान अफ द म्याच घोषित गोलकिपर कार्कीले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सय प्राप्त गरे । खेल संयोजक तिलकवीर सुनारका अनुसार सेमिफाइनलमा न्यु डाँफे स्पोर्टस क्लब ‘ए’, बाग्मती स्पोर्टस र न्यु दर्पण युवा क्लब र रेसिङ साहारा सेमिफाइनल खेल खेल्ने जनाए ।

माघ १५ गतेदेखि सञ्चालनमा रहेको नवौँ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको फाइनल माघ २३ गते हुनेछ । न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरिप्रकाश विकका अनुसार नवौँ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउनेछ ।

प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डी गाउँ निवासी लीलबहादुर थापाले सौजन्य गरेका हुन् ।
खेल प्रतियोगितामा उपविजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सुनारले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष विकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन् । आइतबार सेमिफाइनल खेल आयोजक न्यु डाँफे स्पोर्टस क्लब ‘ए’ र बाग्मती स्पोर्टस क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतबार