खजुरा ।
बर्दियाको बढैयाताल गाउँपालिका–३ का महिला वडा सदस्य दुसानी थारूले हरेक दिन एकाबिहानै साइकलमा नेपालगन्जका सडकमा तरकारी ल्याएर बिक्री गर्ने गर्छिन् । उनले यसरी तरकारी बिक्री गर्न थालेको वर्षौँ भयो । महिला उद्यमीसमेत रहेकी वडा सदस्य थारूले वर्षौँदेखि आफूले कृषि पेसा व्यवसाय गर्दै आएको बताइन् ।
आफैँले उत्पादन गरेका ताजा अर्गानिक तरकारी नेपालगन्जमा ल्याएर बिक्री गर्ने गरेको उनले जानकारी दिइन् । ‘म पहिलादेखि नै कृषि पेसामा आबद्ध थिएँ, विगत १०–१२ वर्षदेखि हरेक दिन बिहान आफूले उत्पादन गरेका अर्गानिक तरकारी साइकलमा राखेर नेपालगन्ज ल्याएर बिक्री गर्दै आएकी छु,’ उनले भनिन्, ‘गत स्थानीय चुनावमा मलाई महिला सदस्यको टिकट मिल्यो, सबैले उठ्न आग्रह गर्नुभयो, सबै पार्टीका मानिसले मलाई सहयोग गर्नुभयो र मैले चुनाव जितेँ ।’
आफू जनप्रतिनिधि भए पनि कृषि पेसामा रमाइरहेको भन्दै उनले बिहानभरी नेपालगन्जमा तरकारी बिक्री गर्ने र दिउँसो घर पुगेपछि जनताका काममा लाग्ने गरेको बताइन् । पहिला साइकलमै राखेर तरकारी बेच्न नेपालगन्जसम्म जाने गरेको र अहिले गाडीमा राखेर ल्याइने गरेको जानकारी दिइन् ।
‘अहिले गाउँका अन्य महिला किसानहरू हामीसँगै थपिनुभएको छ, बिहान २–३ बजेतिर ४–५ जना साथी मिलेर म्याजिक गाडी रिजर्भ गर्छौँ र गाडीमा तरकारी लिएर बिहानै नेपालगन्जको सडकमा बिक्री गर्न पुग्छौँ,’ उनले भनिन् । तरकारी नेपालगन्जसम्म ल्याएर धम्बोझीस्थित सिटिजन बैंक अगाडि सडकको किनारामा लगाउने गरेको उनले जानकरी दिइन् ।
सडकमा तरकारी राखेर बेच्दा बिहान ९ बजेपछि भने नगर प्रहरीले लखेट्ने गरेको उनले गुनासो गरिन् । ‘नेपालगन्जको सडकमा यसरी तरकारी राखेर बेच्न थालेको तीन वर्ष भयो, छुट्टै ठाउँ छैन । बिहान ९ बजेपछि नगर प्रहरी आएर बेच्न दिन्न, लखेट्छ,’ उनले भनिन्, ‘भारतबाट ल्याएर तरकारी बेच्नेहरूका लागि सम्बन्धित सरोकारवालाले विभिन्न स्थानमा निश्चित ठाउँ बनाइदिएको छ, तर हामीले गोबर मलबाट उत्पादन गरेका अर्गानिक तरकारी बेच्ने ठाउँ छैन, हामीलाई पनि निश्चित ठाउँ तोकिदिनुपर्छ ।’
१५ कठ्ठा जग्गामा विभिन्न तरकारीजन्य वस्तुहरू उत्पादन गर्दै आएको उनले बताइन् । नेपालगन्जमा अर्गानिक तरकारी खाने बानी परेका ग्राहक सधैँ आफूलाई कुरेर बस्ने गरेको उनले जानकारी दिइन् । ‘मैले गोबरमल मात्र प्रयोग गरेर ताजा विषादीरहित तरकारी उत्पादन गर्छु, ग्राहकको स्वास्थ्यप्रति म सचेत छु ।
मेरा ग्राहकले सधैँ मसँग तरकारी किन्नुहुन्छ,’ उनले भनिन्, ‘स्वदेशमै स्वस्थकर तरकारी उत्पादन तथा बिक्री गरेमा हामी सबैको स्वास्थ्य ठिक रहन्छ ।’ उनले आफ्ना तरकारीका नियमित ग्राहक रहेको पनि दाबी गरिन् । तरकारी बिक्रीबाटै आफूले पाँच जनाको परिवार पालिरहेको उनले बताइन् ।
‘देशमा केही गर्न सकिन्न भनेर विदेश गएर धेरै नेपाली नागरिकले दुःख पाएका छन्, मैले यहीँ तरकारीबाटै राम्रै आम्दानी गरेकी छु,’ उनको भनाइ छ, ‘सानोतिनो लगानी गरेर दुःख गरेमा यहीँ पैसा कमाउन सकिन्छ, विदेश गएर दुःख पाउनु पर्दैन । तर नेपालमा काम गर्न लाज मान्ने संस्कारले हामी पछि परेका छौँ ।’
तरकारी बेचेरै कमाएको पैसाबाट केही जग्गाजमिन जोडेको र छोरालाई जापानसमेत पठाएको उनले बताइन् । ‘मेरो घरमा कमाइ गर्ने म मात्र हो, तरकारीकै आम्दानीबाट केही जग्गाजमिन किनेकी छु, एउटा बैंकबाट ५ लाख रुपियाँ ऋण लिएर अरू आफ्नैबाट लगानी गरेर छोरालाई जापान पठाएकी हुँ ।’
सरकारले आफूजस्ता साना किसानका लागि ध्यान दिनुपर्ने उनको भनाइ छ । स्थानीयस्तरमै उत्पादन हुने घरेलु तथा अर्गानिक वस्तुलाई सरकारले प्रवद्र्धन गर्नुपर्ने र बिक्रीवितरणका लागि अलग्गै स्थान बनाइदिनुपर्ने उनको माग छ ।
प्रतिक्रिया दिनुहोस्