20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

नेपालगन्ज र लखनउको अस्पतालबीच सहकार्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २१, २०८०  

नेपालगन्ज ।
स्वास्थ्य सेवामा थप प्रभावकारी सेवा प्रदान गर्न नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र भारतको लखनउस्थित अपोलो मेडिक्स अस्पतालबीच सहकार्य गर्ने समझदारी भएको छ । शनिबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको उपस्थितिमा नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कनौडिया र एपोलो लखनउका निर्देशक मंयक सोमनियले सहकार्यको घोषणा गरेका हुन् ।

यो सहकार्यले नेपालगन्जमा केही निःशुल्क उपचार सेवा, विभागीय विषयका सेमिनार तथा यहाँ कार्यरत चिकित्सकसँग अन्तक्रिया गरी बिरामीको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्न थप सहजता मिल्ने नेपालगन्ज मेडिकल कलेजका संस्थापक तथा प्रबन्ध निर्देशक डा. सुरेश कनोडियाले बताए ।

बिरामीलाई सुपर स्पेशालिटी सेवाहरू क्यान्सर रोग, आइभिएफ सेवा, मुटु रोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी सेवा प्रदान गरिनेछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा हुन नसक्ने सेवाहरू मात्र अपोलो अस्पताल लखनउ बिरामीको आवश्कताअनुसार रिफर हुन सक्ने डा. कनोडियाले बताए ।

नेपालगन्ज मेडिकल कलेज र अपोलोबीचको सहकार्यले पश्चिम नेपालमा बिरामीहरूले सुपर स्पेशालिटी परामर्श र उपचारको सेवा आफ्नै सहरमा पाउनेछन् । बिरामीले उत्कृष्ट विश्वस्तरको स्वास्थ्य सेवा पाउने कनोडियाले जानकारी दिए । अपोलो अस्पताल, लखनउमा रेफर भएका बिरामीले पहिलो फलोअप निःशुल्क हुनेछ ।

दोस्रो फलोअपबाट बिरामीले ओपिडी चार्जमा २० प्रतिशत छुट, ओपिडी पर्चामा ल्याब र रेडियोलोजी परीक्षणमा २० प्रतिशत छुट तथा बिरामी भर्ना हुनुपरेमा अपोलो अस्पताल, लखनउमा हुने ल्याब र रेडियोलोजी परीक्षण, आइपिडी बिल र अन्य प्रक्रियामा १० प्रतिशत छुट पाउनेछन् ।

नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज (नर्सिङ होम) बाट लिएको आधिकारिक रेफरल कार्ड देखाएमा मात्र बिरामीले सुविधा पाउने अस्पतालले जनाएको छ । विसं २०५३ सालमा स्थापना भएर नेपालको स्वास्थ्य तथा चिकित्सा विज्ञान क्षेत्रमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मितिः आइतवार, माघ २१, २०८०     9:41:46 AM  |