नेपालगन्ज।
कार्यालयको काम सकेपछि पनि कृषकका खेतमा पुगेर यसरी कृषिका विषयमा गफिनु एकराज ओलीका लागि दैनिकी बनेको छ । बर्दियाको मधुवन नगरपालिकाको कृषि शाखा प्रमुख ओली गाउँमा कृषक र गाउँका रैथाने उत्पादन युट्युव र फेसबुकमार्फत देश दुनियाँमा पु¥याउने व्यक्तिका रूपमा परिचित छन् ।
मधुवन–९ कै स्थानीय ओलीलाई अन्य सरकारी कर्मचारी जस्तो डिउटी पूरा गरेपछि हाइसन्चो हुँदैन । दिनभर कार्यालयको काम सकेपछि पनि कृषि कर्ममा निरन्तर जुटिरहन्छन् । उनले आफैँ १८ कठ्ठा जमिनमा खेतीकिसानी गरिरहेका छन् भने अरू कृषकको खेत–खेतमा पुगेर सरसल्लाह दिइरहन्छन् ।
ओलीको व्यस्तता यतिमै सकिँदैन । खेतीकिसानीको भिडियो खिचेर फेसबुक र युट्युबमा हाल्छन् । विशेषगरी स्थानीय रैथाने बालीहरू आलु, सिमल तरुल, अनदि धान, लसुन जस्ता कृषि उत्पादनका बारेमा अरूलाई जानकारी दिन्छन् । यसो गर्दा स्थानीय उत्पादनको बजारीकरणमा फाइदा पुगेको उनको भनाइ छ । थारू आलुको ब्रान्डिङले त यसको बिक्री वितरण धेरै बढाएको छ ।
उनी आफैँले थारू आलु लगाएका छन् भने अरूलाई पनि थारू आलु लगाउन प्रोत्साहन गरिरहेका छन् । बजारीकरण गरेका कारण थारू आलुको माग बढेको छ । एउटा सरकारी कर्मचारीले गर्ने प्रेरणादायी कामले समाजलाई कति फाइदा पु¥याउँछ भन्ने उदाहरण बनेका ओलीले नेपालका कृषक र कृषिको समस्या मात्रै होइन सम्भावनाका बारेमा स्थानीयसँग भलाकुसारी गर्छन् ।
नेपालमा कृषिमा समस्या मात्रै होइन समाधान पनि रहेकाले त्यसतर्फ कृषकलाई लैजानुपर्ने उनको कथन छ ।









प्रतिक्रिया दिनुहोस्