३६ करोड राजस्व उठाउने यातायातको न भवन न जग्गा



नेपालगन्ज ।
सबैभन्दा धेरै राजस्व उठाउने र सबैभन्दा धेरै सेवाग्राहीले सेवा लिने यातायात कार्यालय नेपालगन्जको न आफ्नै भवन छ न त जग्गा नै ।
जबकि यही कार्यालयले २०८० पुस मसान्तसम्म विभिन्न शीर्षकमा ३६ करोड रुपैयाँ राजस्व उठाएको छ । बाँकेमा संघीय कार्यालय समेतलाई जोड्दा पनि नेपालगन्ज भन्सार कार्यालयपछि सबैभन्दा धेरै राजस्व उठाउने कार्यालयमा यातायात दोस्रो नम्बरमा छ ।

यातायातमा दैनिक ५ सयभन्दा बढी सेवाग्राही सेवा लिन आउँछन् । स्थायी भवन नहुँदा यो कार्यालय ‘बिरालाले छाउरा सारे’झैँ कहिले सहरको कुन कुनामा त कहिले कुन कुनामा सरिरहन्छ । त्यसरी कार्यालय सार्दा सेवाग्राहीले झेल्ने दुःख त बयान गरिसाध्य छैन भने कर्मचारी स्वयम् हैरान छन् । एक वर्षअघि यातायात कार्यालय फेरि पनि अस्थायी भाडाकै भवनमा कारँकादोबाट बाँकेगाउँमा सरेको छ ।

‘यहाँ सरेको एक वर्ष पुगेको छ,’ कार्यालय प्रमुख माधव ज्ञवालीले भने । पूर्वाधारका हिसाबले बेवारिसे अवस्थामा रहेको र जनतासँग प्रत्यक्ष जोडिएको यो कार्यालय नेपालगन्जमै आधा दर्जन ठाउँमा सरिसकेको छ । धेरै वर्षसम्म नेपालगन्ज कोहलपुर सडकखण्डअन्तर्गत पर्ने काँरकादोस्थित भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको यातायात कार्यालयले गत वर्ष माघ महिनादेखि नेपालगन्ज ९ स्थित बाँकेगाउँमा भाडाकै भवनबाट नियमित सेवा दिन थालेको थियो ।

सडक विस्तार र घरधनीले पनि कार्यालय सार्न आग्रह गरेपछि यातायात कार्यालय बाँकेगाउँ सर्नुपरेको हो । लुम्बिनी प्रदेश सरकार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय नेपालगन्ज स्थानीय रामलिला मैदानको दक्षिणतिर बाँकेगाउँमा सरेपछि त्यसक्षेत्रमा अहिले मानिसहरूको चहलपहल सँगै व्यावसायिक गतिविधि पनि बढेको स्थानीयले बताएका छन् ।

तर, सो स्थानमा सेवाग्राहीको भीडभाडले गर्दा सडक जाम हुँदा सवारी साधन ओहोर–दोहोर गर्न र पैदल यात्रीहरूलाई हिँड्नमा कठिनाइ भइरहेको स्थानीयले गुनासो गरेका छन् । यति मात्रै होइन भारतलगायतका तेस्रो मुलुकबाट कुनै सवारी साधन आउँदा उनीहरूले काट्नुपर्ने पटके रसिद काट्नसमेत यातायात कार्यालय खोज्दै भौँतारिनुपरेको छ ।

राजमार्गबाट झन्डै डेढ किलोमिटर त्यो पनि चार–पाँच मिटर चौडाइ सडक भएको बस्तीबीचको ठाउँमा यातायात कार्यालय सार्दा ठूला सवारीसाधनलाई जाँचपास गराउन धौ–धौ पर्ने गरेको यातायात कार्यालयका कर्मचारीहरू बताउँछन् । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा भए पनि प्राविधिक सीप परीक्षण (ट्रायल)को कार्य भने कोहलपुरबाट नै भइरहेको यातायात कार्यालयले जनाएको छ ।

भाडाको भवनबाट सेवा प्रवाह गर्दा समस्या खेप्नुपर्ने र भनेजस्तो भौतिक संरचना पाउन कठिन हुने भएकाले आफ्नै जग्गा र भवनको खोजीमा यातायात कार्यालय धेरै वर्षदेखि खोजीमा लागिरहेको छ । नेपालगन्जमा कतै पनि ठाउँ नपाएपछि कोहलपुरस्थित प्राविधिक सीप परीक्षण गर्ने (ट्रायल) सेन्टरकै जग्गामा कार्यालय सञ्चालन गर्न सकिने केही सम्भावना रहे पनि यसमा नेपालगन्ज र कोहलपुरको खिचातानीले पिरोलेको छ।

त्यसकारण पनि यातायात व्यवस्था कार्यालय अहिले पनि आफ्नै जग्गासमेतको सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने कार्यको खोजीमा रहेको छ । तर राजनीतिक नेतृत्वले न त जग्गा उपलब्ध गराउन सकेका छन् न त कार्यालय नै सार्न सहमति जनाएका छन् । यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट सवारी दर्ता, नामसारी, प्रतिलिपि, नवीकरण तथा सरुवा सहमति, सवारीको जाँचपास, जाँचपासको नवीकरण तथा प्रतिलिपि, बाटो इजाजतपत्र, बाटो इजाजतपत्र नवीकरण, सवारी चालक अनुमति जारी, सवारी चालक अनुमति पत्रमा वर्ग थपलगायतका कार्यहरू हुँदै आएका छन् ।

प्रायः दैनिकजसो अत्यधिक सेवाग्राहीको चाप भइरहने यातायात कार्यालय व्यवस्थित हुन नसक्दा आम सेवाग्राहीसमेत सेवा लिन जाँदा अलमलमा पर्ने गरेका छन् । यातायात प्रमुख ज्ञवालीले कार्यालय अपायक ठाउँमा भएको विषयमा जनगुनासो आएको बताउँछन् । यस सम्बन्धमा नीतिगत निर्णय भए मात्रै समस्याको समाधान हुने उनको भनाइ छ । कतिपयले त महँगो शुल्क तिरेर विभिन्न व्यक्तिहरूमार्फत काम गराउनुपर्ने बाध्यता रहेको गुनासो गर्ने गरेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८० माघ २१ गते आइतबार