बाग्मती, न्यु दर्पण र न्यु डाँफे ‘ए’ सेमिफाइनलमा



खजुरा ।
बाँकेको खजुरामा जारी नवौँ डाँफे कप नक आउट फुटबल प्रतियोगितामा शुक्रबार बाग्मती स्पोर्टस क्लब र न्यु दर्पण युवा क्लबले जित निकालेका छन् । योसँगै क्वाटरफाइनल खेल खेलेका बाग्मती र न्यु दर्पणले सेमिफाइनलको यात्रा तय गरेका हुन् । शुक्रबार सम्पन्न पहिलो खेलमा बाग्मती स्पोर्टस क्लब बी गाउँले एफसी ब्रदर्स खजुरालाई पेनाल्टी सुटआउटमा हराएको हो ।

खेल सुरु भएको ५ मिनेट जाँदा बाग्मती स्पोर्टस क्लबका श्याम ब्यादीले गोल गरेका थिए भने खेलको ३६औं मिनेटमा एफसी ब्रदर्सका प्रेम सुनारले थप एक गोल गरी खेललाई बराबरीमा ल्याएका थिए । खेलको समयसीमा भित्र दुबै टिमको १÷१ को बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । पेलान्टी सुटमा गएको खेलमा बाग्मतीका तर्फबाट ३ गोल भयो भने ब्रदर्सबाट १ गोल मात्र भयो ।

पहिलो खेलको म्यान अफ द म्याच बाग्मती स्पोर्टस क्लबका गोलकिपर सुदीप शाही भएको खेल संयोजक तिलकवीर सुनारले जनाए । शुक्रबार भएको दोस्रो खेलमा न्यु दर्पण विजयी भएको छ । नेपालगन्जको धम्बोझी स्पोर्टस क्लब र न्यु दर्पण क्लब खजुरा ई गाउँको खेल अवधिभर कुनै गोल हुन नसकेपछि बराबरी भएको थियो ।

खेल ट्राइबेकरमा गएपछि धम्बोझीले ४ गोल मात्र हान्दा न्यु दर्पणले ५ गोल ग¥यो । खेलको म्यान अफ द म्याच न्यु दर्पणका धनसिंह विक भए । प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार दुबै म्यान अफ द म्याच घोषित खेलाडीले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सयका दरले प्राप्त गरे ।

दर्शकको उल्लेख्य सहभागिता रहेको मिनी रंगशालामा माघको १५ गतेदेखि खेल सञ्चालन भइरहेको आयोजक न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरिप्रकाश विकले बताए । नवौँ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पाउने खेल संयोजक तिलकवीर सुनारले जानकारी दिए । प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिलबहादुर थापाले सौजन्य गरेका छन् ।

खेल प्रतियोगितामा उपविजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने न्यु डाँफे स्पोर्टस क्लबका उपाध्यक्ष नारायण खनालले जनाए ।प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष विकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन् ।

आज शनिबार न्यु डाँफे स्पोर्टस क्लब ‘बी’ टिम र रेसिङ साहारा कोहलपुरबीच क्वाटरफाइनल खेल हुनेछ । हालसम्म न्यु डाँफे स्पोर्टस क्लब ‘ए’ , बाग्मती स्पोर्टस र न्यु दर्पण युवा क्लबले सेमिफाइनल यात्रा तय गरिसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ २० गते शनिबार