जाजरको ।
बिहीबारको वर्षा र हिमपातले जाजरकोट भूकम्पका पीडितहरूको जीवन थप कष्टकर बनेको छ । अस्थायी आवासहरूमा बसोबास गरिरहेका जाजरकोट, रुकुम, सल्यानलगायत जिल्लाका भूकम्पपीडितहरूको जनजीवन थप कष्टकर बनेको हो । कतिपय भूकम्पपीडितहरू त अहिले पनि त्रिपालमै बसिरहेकाले चिसोमा आगो तापेर रात कटाउन बाध्य भएका छन् ।
जाजरकोट भूकम्पले घरबारविहीन बनेकाहरूले तीन महिना बितिसक्दा पनि अझै अस्थायी आवास पाएका छैनन् । त्रिपालकै बसोबासले कतिपय भूकम्पपीडित बिरामीसमेत बनेका छन् । चिसोका कारण यसअघि नै जाजरकोटमा ३१ जना र रुकुमपश्चिममा पाँच गरी ३६ जनाको मृत्यु भइसकेको छ ।
त्रिपालमुनि भुइँको चिसो र शीतले सुत्केरी महिला, बालबालिका र दीर्घरोगी वृद्धवृद्धा समस्यामा परेका छन् । उनीहरूले आगो तापेर रात कटाउने गरेका छन् । बारेकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते मध्यरातमा गएको ६.४ रेक्टरको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा मानवीय र भौतिक क्षति पुगेको थियो । भेरी नगरपालिका–१ की बिमी खत्रीले अहिले पनि त्रिपालमुनि चिसो मौसममा रात बिताउनुपरेको गुनासो गरिन् ।
जाजरकोटका सात पालिकामा ४२ हजार ५ सय २४ जना लाभग्राही छन् । २९ हजार ३ सय २३ लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरेका छन् । तिनमा २८ हजार ३ सय ७६ लाभग्राहीले अस्थायी आवासको पहिलो किस्ता पाएका छन् । १४ हजार १ सय ४८ लाभग्राहीले अस्थायी आवासको रकम नपाउँदा अझै पनि त्रिपालमुनि रात बिताउनुपरेको छ ।
जिल्ला विपत् व्यवस्थापन कोषबाट १ अर्ब ३ करोड ४१ लाख ७५ हजार रुपियाँ गाउँ तथा नगरपालिकाको विपत् व्यवस्थापन कोषमा जम्मा भएको रकममध्ये ७० करोड ९४ लाख अस्थायी आवास निर्माणका लागि वितरण गरिएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार नेपाल सरकारको अनुदान सहयोगबाट १२ हजार ४ सय ९६ र अन्य सहयोगी दाताबाट ५ सय २२ अस्थायी आवास निर्माण भएको छ । अहिलेसम्म १० हजार अस्थायी आवास निर्माण भएका छन् ।
भूकम्पपीडितका लागि थप अस्थायी आवास निर्माण कार्य कछुवा गतिमा रहेको स्थानीयको गुनासो छ । त्यस्तै, रुकुमको आठविसकोट नगरपालिकाका भूकम्पपीडित पनि चिसोबाट प्रभावित भएका छन् । हिउँदे वर्षासँगैको हिमपातले भूकम्प पीडितहरूको बसाइँलाई प्रत्यक्ष प्रभाव पारेको छ । अस्थायी टहरा निर्माणको काम पूरा नभएकाले चिसोबाट पीडित बन्नुपरेको स्थानीयबासीको भनाइ छ ।
भूकम्प गएको तीन महिना बितिसक्दा पनि अस्थायी आवासको काम नै पुरा गर्न नसकेको भन्दै उनीहरूले सरकारसमक्ष गुनासो गरेका छन् ।
सानीभेरी गाउँपालिका ४ का वडा अध्यक्ष मनोज बुढाथोकीले हिमपात र पानी परेको कारण सर्वसाधारणको दैनिकीमा प्रभाव परेको बताए ।
कतिपय पीडितहरू चर्किएकै घरमा रहेकाले चुहिने पानीको कारण घर ढल्नसक्ने जोखिमसमेत रहेको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।
हिमपातका कारण हिउँदे खेतीलाई भने फाइदा पुग्ने बताइएको छ । पानी र हिउँका कारण गहुँ र जौ खेतीलाई फाइदा पुग्ने किसानहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्