16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कोहलपुर किसानको अध्यक्षमा सुमित्रा भण्डारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ २०, २०८०  

कोहलपुर ।
नेकपा एमाले भातृ संगठन अखिल किसान महासंघ कोहलपुर नगर कमिटीको अध्यक्षमा सुमित्रा भण्डारी सर्वसम्मत चयन भएकी छन् । शुक्रबार तेस्रो सम्मेलनमार्फत भण्डारीसहित २१ सदस्यीय कमिटी चयन गरिएको हो । सो अवसरमा बोल्दै उनले आफ्नो आगामी कार्यकालमा किसानको हकहितमा काम गर्ने प्रतिबद्धता जनाइन् ।

सबै वडाका किसानलाई आवश्यक पर्ने मलखादलगायतका समस्या समाधान गर्न आफू निरन्तर खटिने उनको भनाइ थियो । ‘सम्पूर्ण श्रमजीवी किसान एकजुट होऔँ’ भन्ने मूल नाराका साथ तेस्रो सम्मेलन सम्पन्न भएको छ । सो अवसरमा बोल्दै अखिल किसान महासंघ केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज आरती पौडेलले स्थानीय उत्पादन उपभोग गर्न र आफ्नो उत्पादनमा जोड दिन आग्रह गरेकी थिइन् ।

निर्वाचित समितिलाई शुभकामना दिँदै किसानका उत्पादन, बिक्रीवितरण र समग्र नगरभित्रका किसानलाई समेटेर अघि बढ्न आग्रह गरिन् । शुक्रबारबाटै तीनमहिने किसान अभियानसमेत सुरु भएको अखिल किसान महासंघ जिल्ला अध्यक्ष कृष्ण विक्रम केसीले जानकारी दिए । यस वर्ष बाँके जिल्लाभरिबाट १० हजार किसान सदस्य बनाउने उद्देश्यसहित अभियान सुरु गरिएको उनले जनाए ।

नवनिर्वाचित कोहलपुर नगर कमिटीले राम्रो काम गरेर अघि बढ्न उनले शुभकामनासमेत दिए । कमिटीले आगामी दिनमा कोहलपुर नगरपालिकाभित्र रहेका किसानका समस्या पहिचान गर्न र सम्बन्धित निकायलाई झकझक्याउनसमेत आग्रह गरे । केन्द्रीय सदस्य मोती भुसालले नवनिर्वाचित समितिलाई सपथ खुवाएका थिए ।

 

प्रकाशित मितिः शनिबार, माघ २०, २०८०     7:09:20 AM  |