17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

नगर अन्तरविद्यालयस्तरीय हाजिरी जवाफ सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ २०, २०८०  

कोहलपुर ।
कोहलपुर नगरपालिका अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै मेयर आचार्यले विद्यार्थीहरूलाई पाठ्यक्रम र पाठ्यपुस्तक अध्ययनमात्रै नभई अतिरिक्त क्रियाकलापहरूमा नगरपालिकाले सामुदायिक विद्यालयको सञ्चालन तथा व्यवस्थापनमा संस्थागत विद्यालयको समेत सहभागितामा रहने गरी प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।

विद्यार्थीहरूलाई बहुआयामिक बनाउन र क्षमताको मूल्याङ्कन गर्न स्थानीय सरकारको तर्फबाट कार्यक्रम तयार गरी विद्यालयको सञ्चालन एवम् व्यवस्थापनमा अतिरिक्त क्रियाकलापअन्तर्गत हाजिरी जवाफ प्रतियोगिता गरिएको जानकारी दिए । हाजिरी जवाफले विद्यार्थीहरूको अन्तरनिहीत क्षमता प्रस्फुटन गर्नुका साथै चौतर्फी विकास गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

शिक्षकहरूले कुनै पनि कन्जुस्याइँ र अल्छी नगरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न पनि उनले निर्देशन दिए । अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई केही सिक्ने र आफूभित्र रहेको क्षमता प्रदर्शन गर्न मद्दत पुन्ने शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर हमालले बताए । नगरपालिकालाई शैक्षिक हब बनाउन अतिरिक्त क्रियाकलाप मात्रै नभई नगरपालिकाले भौतिक संरचना निर्माण, शिक्षक पदपूर्ति, अनुगमन गर्दै आएको उनको भनाइ थियो ।

सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा दिई नयाँ ज्ञान बटुल्ने अवसर दिएको भन्दै बालशिक्षा विद्यालयका प्रधानाध्यापक टर्क खत्रीले नगरपालिकालाई धन्यवाद दिएका थिए ।सो प्रतियोगितामा सामुदायिक र संस्थागत गरेर जम्मा १६ विद्यालयहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नेरा मावि खड्कवार प्रथम, ज्ञानज्योति बगिया द्वितीय र त्रिभुवन मावि तृतीय भएका छन् । प्रथम हुनेलाई ३ हजार, दास्रोलाई २ हजार र तेस्रो हुने विद्यालयलाई १५ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, माघ २०, २०८०     7:06:50 AM  |