नेपालगन्ज ।
नेपालगन्ज साइक्लिङ क्लबले यही माघ २५,२६ र २७ मा आयोजना गर्न लागेको नेपालगन्ज साइकल उत्सवको अन्तिम तयारी भइरहेको जनाएको छ । क्लबका अध्यक्ष प्रदीप सापकोटाका अनुसार नेपालगन्ज साइकल फेस्टिभलअन्तर्गतको टुर दि ठाकुरद्वारालाई विश्वकै अग्रणी इभि बिवाइडीले टाइटल स्पोन्सर गर्ने सम्झौता क्लब र गाडी बिक्रेताबीच भएसँगै अब टुर दि ठाकुरद्वारा ‘बिवाइडी टुर दि ठाकुरद्वारा’ भनेर आयोजना गरिने अध्यक्ष प्रदीप सापकोटाले बताए ।
बिवाइडीका नेपालगन्ज बिक्रेता टिम इलिभेन इभि प्रालि लिमिटेडका सञ्चालक वसन्त भण्डारीले नेपालकै नियमित आयोजना हुँदै आएको साइकलको सबैभन्दा ठूलो इभेन्टसँग सहकार्य गर्न लागेको जनाउँदै खुसी व्यक्त गरे ।
क्लबले कार्यक्रममा देशभर र भारतीय सहरबाट समेत गरी ३ सय जना साइकल यात्रीहरू यो इभेन्टमा सहभागी हुने जनाएको छ । कार्यक्रम नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएर बाँके र बर्दियाका विभिन्न पर्यटकीय गन्तव्य छिचोल्दै बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्मको १०० किलोमिटर साइकल यात्रा पूरा गरिने क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रदीप कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्