खजुरा ।
बाँकेको खजुरा डि गाउँस्थित मिनी रंगशालामा जारी नवौँ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगितामा बिहीबार सम्पन्न खेलमा रेसिङ सहारा क्लब कोहलपुर र न्यु डाँफे स्पोर्टस क्लब ‘बी’ले जित निकालेको छ । प्रतियोगिताको चौथो दिन सम्पन्न पहिलो खेल रेसिङ सहारा क्लब कोहलपुर र एफसी गौघाटबीच भएको थियो । रेसिङ्ग सहाराले एफसी गौघाटलाई १ काविरुद्ध ४ गोल गरी हराएको हो ।
रेसिङ सहाराका तर्फबाट महेश विकले खेल सुरु भएको १३ मिनेट र ३० मिनेटमा २ गोल गरे । महेश शाहीले ४० मिनेट हुँदा एक गोल गरे भने कुष्ण पुरीले ४५औँ मिनेटमा अर्काे गोल गर्दै टिमलाई अघि बढाए । उता एफसी गौघाटको तर्फबाट सरोज केसीले ३८औँ मिनेटमा एक गोल गरेका थिए । सरोजको एक गोलपछि गौघाट थप गोल गर्न असमर्थ रह्यो । पहिलो खेलको म्यान अफ द म्याच रेसिङ सहारा क्लब कोहलपुरका सुनिल थापामगर भएको खेल संयोजक तिलकवीर सुनारले जनाए ।
त्यस्तै, बिहीबार सम्पन्न दोस्रो खेलमा न्यु डाँफे स्पोर्टस क्लब ‘बी’ले जित निकालेको छ । खेलको समयसीमासम्म न्यु डाँफे ‘बी’ र सगरमाथा युथ क्लब बैजानाथको १÷१ गोल भएर बराबरीमा टुङ्गिएपछि ट्राइबेकरमा न्यु डाँफेले जित निकालेको हो । ट्राइबेकरमा खेल गएपछि सगरमाथा युथ क्लबको २ गोल र न्यु डाँफेको ४ गोल भएको थियो । दोस्रो खेलको म्यान अफ द म्याच न्यु डाँफेका गोलकिपर दिपेन्द्र बोहरा भएको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
दुबै म्यान अफ द म्याच घोषित खेलाडीले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सयका दरले प्राप्त गरे । बिहीबार पानी परे पनि खेल सञ्चालनमा कुनै कठिनाइ नभएको न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरि प्रकाश विकले बताए । अध्यक्ष विकका अनुसार नवौँ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पाउनेछन् ।
उक्त पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लीलबहादुर थापाले सौजन्य गरेका छन् । खेल संयोजक सुनारले प्रतियोगितामा उपविजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने जनाए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष विकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन् ।
शुक्रबारदेखि क्वार्टर फाइनलका खेल सुरु हुनेछ । शुक्रबार पहिलो खेल बाग्मती स्पोर्टस क्लब ‘बी’ गाउँ र एफसी ब्रदर्श खजुराबीच हुनेछ । त्यस्तै, दोस्रो खेल धम्बोझी क्लब नेपालगन्ज र न्यु दर्पण स्पोर्टस क्लब खजुरा ४ ई गाउँबीच हुने न्यु डाँफे स्पोर्टस क्लबका वरिष्ठ उपाध्यक्ष मदनरत्न केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्