बाँके ।
विश्व सिमसार दिवस बाँकेसहित नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल गोही छोड्ने कार्यक्रमको आयोजना गरेको छ । सिमसार दिवसको अवसरमा राप्ती नदीमा गोही छोड्न लागिएको निकुञ्जका सहायक संरक्षण अधिकृत कुननारायण चौधरीले जानकारी दिए ।
‘गतवर्ष जस्तै यसवर्ष समेत दिवसको अवसरमा राप्ती नदीमा घडियाल गोही छोड्ने कार्यक्रम बनाएका छौं,’ उनले मिसन टुडेसँग भने, ‘यसवर्ष समेत कुसुमस्थित राप्ती नदीमा गोही छोड्नेछौं ।’ लुम्बिनी प्रदेश सरकार सहरी विकास मन्त्री कृष्णा केसी (नमुना)को प्रमुख आतिथ्यमा सिमसार दिवसको अवसरमा कुसुमस्थित राप्ती नदीको बगरमा औपचारिक कार्यक्रमको आयोजना गरने भएको छ ।
सोही स्थानबाट नै चितवनबाट ल्याएका १० वटा घडियाल गोहीका बच्चा राप्ती नदीमा छोडिने बाँके निकुञ्जले जनाएको छ । गतवर्ष समेत सिमसार दिवसकै अवसरमा बर्दिया निकुञ्जबाट ल्याइएका १० वटा घडियाल गोही निकुञ्जले राप्ती नदीमा छोडेको थियो । दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा जनप्रतिनिधि, संरक्षणमा लागेका संघ संस्थाका प्रतिनिधि तथा व्यक्ति, सुरक्षाकर्मी, स्थानीयलगायतको उपस्थिति हुनेछ ।
विश्व सिमसार दिवस हरेक वर्ष फेबु्रअरी २ मा मनाउने गरिन्छ । सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ ।
सरकारी तथ्यांकअनुसार नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । विश्व संरक्षण संघ नेपालको अभिलेख अनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हो ।
सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ । नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । यसैगरी, नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन् ।
त्यस्तै, २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति पनि सिमसारमा आश्रित छन् । विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) २ फेबु्रअरी १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेबु्रअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।
रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील संकटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ । सन् १९८७ डिसेम्बर १७ का दिन नेपालले कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो ।
रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसार सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको विभागको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्