नेपालगन्ज ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जले अनलाइन सवारी दर्ता प्रणाली लागू गर्दै प्रादेशिक संरचनाको आधारमा सवारी दर्ता प्रक्रिया सुरू गरेको छ । सेवाग्राहीको सहजताकालागि सवारी साधन दर्ता गर्ने र नयाँ नम्बर प्लेट समेत उपलब्ध गराउन सुरू गरिएको कार्यालयले जनाएको छ ।
यातायात कार्यालय नेपालगन्जका सूचना अधिकृत मोहन घर्तीमगरले साना ठूला सबै सवारीसाधनको दर्ता प्रदेश नम्बरको आधारमा हुने बताए। नयाँ व्यवस्था अनुसार सबैभन्दा अगाडि माथिल्लो लाइनमा प्रदेशको नाम रहनेछ भने त्यसपछि प्रदेशअन्तर्गतको यातायात कार्यालयको कोड नम्बर रहनेछ । तल्लो रोमा भने लट नम्बर त्यसपछि सवारी साधन कोड र सवारीसाधन नम्बर रहनेछ ।
लुम्बिनी प्रदेश, श्राम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको यातायात कार्यालयले माघ १ गतेदेखि (अनलाइन सवारी दर्ता प्रणाली) लागू गरिसकेको छ । जसअन्तर्गत सेवाग्राहीले डिजिटल माध्यमबाट घरमै बसेर विभिन्न शीर्षकमा राजस्व बुझाउन सक्नेछन् ।
सूचना अधिकृत मगरका अनुसार विद्युतीय प्रणालीबाट लुम्बिनी प्रदेशभरिका सवारी दर्ता, नामसारी तथा नवीकरण गर्न मिल्ने व्यवस्था मिलाइएको छ । उनले कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई चुस्त दुरूस्त बनाउँदै लाइसेन्स प्राप्तिका लागि क्रमशः पहिलो दिन बायोम्याट्रिक, दोस्रो दिन लिखित र अर्को दिन ट्रायल दिने व्यवस्थासमेत मिलाइएको बताए ।
प्रतिक्रिया दिनुहोस्