16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कैदी भेट्न गएका लागूऔषधसहित पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १९, २०८०  

बाँके ।

बर्दिया कारागारमा कैदी भेट्ने निहुँमा आएका एक युवक लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । लागूऔषध लिएर कैदी भेट्न गएका गुलरिया नगरपालिका–२ संगमबस्तीका २२ वर्षीय विजय तिरुवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलकराम अर्यालले जानकारी दिए ।

लागूऔषध मुद्दामा कारागारमा रहेका मधुवन नगरपालिका–९ का कमल शर्मालाई तिरुवा लागूऔषध लिएर भेट्न पुगेका थिए ।
काँचो माछाभित्र लुकाई ल्याएको लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धूलो पदार्थसहित उनलाई पक्राउ गरिएको डिएसपी अर्यालले बताए ।

पक्राउ परेका तिरुवाको साथबाट ५ सय २० मिलीग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धूलो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

‘विशेष सूचनाका आधारमा शंका लागेर उनको साथमा रहेको माछा चेक गर्दा लागूऔषध बरामद भएको हो,’ डिएसपी अर्यालले भने, ‘पक्राउ परेका तिरुवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मितिः शुक्रबार, माघ १९, २०८०     9:34:57 AM  |