16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

नेपालगन्जका मुद्दा उठाउँदै नागरिक समाज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ १८, २०८०  

नेपालगन्ज ।
पश्चिम नेपालको ऐतिहासिक सहर नेपालगन्जको विकासका लागि बाँकेका नागरिक समाजले अग्रसरता देखाएको छ । नेपालगन्ज सहरको समग्र विकासका लागि सबै एकजुट हुनुपर्ने नागरिक समाजका अगुवाहरूको भनाइ छ ।  नेपालगन्जमा विकासका अथाह सम्भावना हुँदाहुँदै पनि त्यसलाई उपयोग गर्न नसकिएकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

नेपालगन्जलाई सिधै अन्तर्राष्ट्रिय स्तरसम्म पहुँच पु¥याउनुपर्ने उनीहरूको धारणा छ । पर्यटकीय स्थल मानसरोवरसम्म अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनका लागि कैलास मानसरोबर यात्रा, नेपालगन्ज र जनकपुरदेखि भारतको आयोध्यासम्म दैनिक बस सेवा सञ्चालनलगायतको पहल गर्नुपर्नेमा नागरिक अगुवाहरूले जोड दिएका छन ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीको नेतृत्वमा भएको नागरिक समाजका अगुवाहरूको बैठकले नेपालगन्जको समग्र विकासका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकले नेपालगन्ज नगरमा छाडा पशुचौपाया नियन्त्रण, सरसफाइ, ट्राफिक व्यवस्थापन, अस्पताल व्यवस्थापन, वातावरण संरक्षणलगायतका विषयलाई प्रभावकारी रूपमा उठाउने निर्णय गरेको छ ।

बैठकमा सहभागी प्रतिनिधि सभा सदस्य लक्ष्मी तिवारीले पश्चिम नेपालको पहिचानको रूपमा रहेको नेपालगन्ज सहरको समग्र विकासका लागि सबै राजनीतिक दलहरूले साझा मुद्दाको रूपमा उठान गरी सम्बन्धित निकायसम्म पु¥याउनुपर्नेमा जोड दिइन् । उनले बाँकेबाट निर्वाचित सबै संघ र प्रदेशका सासदहरू एकजुट भई आवाज उठाउनुपर्ने बताइन् ।

‘नेपालगन्जको विकासका मुद्दालाई केलाएर समाधानका लागि कहाँ–कहाँ जानुपर्दछ, हामी गएर पहल गर्छौ,’ उनले भनिन्, ‘तर त्यसका लागि राजनीतिक, सामाजिक तथा आर्थिक सबै क्षेत्रको सहमति जरुरी छ ।’बैठकले नेपालगन्जका एक–एक सवाल उठान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय भएको नागरिक अभियन्ता रविन्द्रकुमार ज्ञवालीले जानकारी दिए ।

बैठकमा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल बैश्य, क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष डा. विनोद कर्ण, नागरिक समाज बाँके संयोजक कृष्णप्रसाद श्रेष्ठ, नागरिक अभियन्ता प्रकाश उपाध्याय, गोपाल गिरी, कृष्णमुरारी प्रसाद भट्ट, मैमुना सिद्दिकी, सूर्यलाल यादव, अरुणकुमार तिवारी, अधिवक्ता बलबहादुर चन्द, कोहीनुर मल्ल ठकुरी, करिम खानलगायतले बोलेका थिए ।

 

प्रकाशित मितिः बिहिबार, माघ १८, २०८०     9:35:11 AM  |