कोहलपुर ।
कोहलपुर नगरपालिकाले बिनादर्ता तथा मापदण्डविपरीत सञ्चालन हुँदै आएका पसल बन्द गर्ने अभियान सुरु गरेको छ । पटक–पटक आग्रह गर्दा पनि अटेर गर्ने पसलेहरूलाई कारबाहीस्वरूप बन्द गर्ने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगरपालिकाले हरेक वर्ष नगरपालिकामा दर्ता प्रक्रियामा आउन सूचना दिँदा समेत अटेरी गरी बिनादर्ता सञ्चालन भइरहेका पसल तथा अन्य व्यवसायहरूलाई बन्द गर्ने अभियान सुरु गरेको बजार अनुगमन समिति कोहलपुरका संयोजक अग्निप्रसाद आचार्यले बताए ।
उनले बजार अनुगमनका क्रममा एनटिभी रोडमा दर्ता बिना सञ्चालनमा रहेको महेर बुटिक तथा सिलाइ कटाइ प्रशिक्षण केन्द्रलाई बन्द गरिएको र तत्कालै दर्ता प्रक्रियामा जानसमेत निर्देशन दिएको बताए ।
कोहलपुर नगरपालिका भित्र सञ्चालन भएका तर दर्ता नभएका पसललाई सात दिनभित्र दर्ता प्रक्रियामा नआएमा बन्द गरी कारबाही प्रक्रिया सुरु गर्ने समितिका संयोजक आचार्यले चेतावनी दिए ।
नगरमा सञ्चालित पसल तथा विभिन्न व्यवसाय दर्ता भए÷नभएको, अन्य मापदण्ड पूरा गरे÷नगरेको, खाद्यान्न र अन्य वस्तुमा मिसावट गरे÷नगरेको तथा म्याद नाघेका वस्तुको बिक्री गरे÷नगरेको बारे समितिले निरन्तर अनुगमन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्