20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

पुराना उद्योग हराउँदै,नयाँ खुल्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ १८, २०८०  

नेपालगन्ज ।
नेपालगन्ज बाँके गाउँमा कुनै बेला नेपालगन्जकै ठूलोमध्ये एक स्टल उद्योग सञ्चालनमा थियो । स्थानीयले बताएअनुसार मकालु स्टिल उद्योगले भाडाहरू उत्पादन गथ्र्याे । दिनरात कैयौं मजदुरहरू काममा खटिन्थे । तर अहिले यी सबै कुरा उद्योग देख्ने पुस्ताको सम्झनामा मात्रै बाँकी छ । यो उद्योग बन्द भएर पनि जग्गा अरूले नै खरिद गरिसकेका छन् ।

जमुनाह भन्सार नजिकै कैयौं जनालाई रोजगारी दिएको सलाई उद्योग थियो । स्थानीयको रोजगारीको भर मानिएको उद्योग बन्द भएको धेरै बर्ष भइसक्यो । बाँकेमा अहिले कुनै पनि सलाई उद्योग छैन ।नेपालगन्जको महाकाली राइस मिलले कुनै बेला बंगलादेश चामल निर्यात गथ्र्याे । ट्रकका ट्रक चामल ढुवानी हुन्थे । महाकाली, टन्डन जस्ता ठूला राइस मिल उहिल्यै बन्द भइसके ।

कत्था उद्योगको अवस्था पनि यस्तै रह्यो । नेपालगन्जको औद्योगिककरणमा महत्वपूर्ण योगदान दिएका यी र यस्ता उद्योग अब सम्झनामा मात्रै छन् । समय परिस्थितिले पुराना उद्योग बन्द भए, नयाँ–नयाँ उद्योग थपिँदै गएको बताउँछन् नेपालगन्ज राजनीतिज्ञ एवं उद्योगि पशुपतिदयाल मिश्र । उनका अनुसार पूर्वाधार निर्माण गरिदिने हो भने बाँकेमा थप उद्योग सञ्चालन हुन्छ जसले रोजगारीसँगै देशलाई आत्मनिर्भर बनाउँछ ।

बाँके औद्योगिक क्षेत्रको हब हो । यहाँका औद्योगिक उत्पादनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आवश्यकता पूर्ति मात्र गरेको छैन, देश र विदेशमा पनि बजार फराकिलो पारेको छ । लुम्बिनी प्रदेशका जिल्लाहरूमध्ये पहिलो रुपन्देही र दोस्रो बाँकेमा उद्योगिक विकास बढी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तसम्म बाँकेमा १ सय ९ वटा ठुला लगानीका उद्योग सञ्चालनमा आएका छन् ।

यी उद्योगको चुक्ता पुँजी २२ अर्ब ८७ करोड ९० लाख रहेको छ । बाँकेमा सञ्चालित ठूला उद्योगमा ९ हजार १ सय ११ जनाले रोजगारी पाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यहाँका उद्योगमा विगतमा अधिकांश कामदार भारतीय नागरिक हुने गरेको भए पनि अहिले स्वदेशी कामदारकै बाहुल्यता छ ।

यहाँ पञ्चायतकालमै औद्योगिक क्षेत्र स्थापना भएर अहिलेसम्म निरन्तर सञ्चालनमै छ । २ वटा औद्योगिक क्षेत्र निर्माणाधीन छन् ।

प्रकाशित मितिः बिहिबार, माघ १८, २०८०     9:24:41 AM  |