पाँचौँ प्रादेशिक कोहलपुर महोत्सवको तयारी तीव्र



कोहलपुर ।
पाँचौँ प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव– २०८० को तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ । माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने प्रादेशिक महोत्सवको तयारी तीव्र पारिएको मंगलबार पत्रकार सम्मेलनमार्फत नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरले जानकारी दिएको हो ।

‘मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समिति एवम् महिला समितिको मुख्य आयोजनामा कोहलपुर नगरपालिका–११ न्युरोडको खुला मैदानमा मेला सञ्चालन हुने संयोजक हेमबिक्रम जिसीले बताए ।

सो पत्रकार सम्मेलनमा बोल्दै संयोजक जिसीले स्थापना कालदेखि नै घरेलु महासंघले उद्यमीहरूको औद्योगिक क्षमता विकास र विपन्न तथा रोजगारी सिर्जना गर्दै विकासमा अहम् भूमिका निर्वाह गर्दै आएको बताए । परनिर्भरताको सोचबाट माथि उठी स्थानीय स्तरमा आवश्यकताका आधारमा लघु तथा घरेलु उद्योगको स्थापना गरी स्वदेशी उत्पादनको प्रयोग गर्नसमेत आमनागरिकलाई सुसूचित गराउँदै आएको बताए ।

महोत्सवले स्थानीयस्तरमा भएका स्रोत साधनको सदुपयोग गरी उत्पादन गरिएका लघु घरेलु उद्योगहरूको दिगो बजार पहुँच स्थापित गर्ने मुख्य उदेश्य राखिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए । स्वदेशी वस्तुहरूको गुणस्तरियता पहिचान गराई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापारको वातावरण बनाउन विगतका वर्षहरूमा जिल्लास्तरीय र क्षेत्रीयस्तरका ४ वटा व्यापार मेला महोत्सव सम्पन्न गरिसकेको पनि उनले बताए ।

पाँचौँ महोत्सवमा ३ सयदेखि ३ सय ५० वटा नवीनतम् प्रविधिजन्य उत्पादनहरू, महिला तथा स्थानीयस्तरमा उत्पादित वस्तुहरूको महोत्सवको प्रमुख आकर्षण रहने उनले बताए । महोत्सवमा उत्पादनमूलक उद्योगका अलावा कृषि, वनपैदावार, हस्तकला, ऊर्जा, वायोग्यासलगायत पर्यटन र औधोगिक तथा व्यापारिक स्टलहरू पनि रहने उनले जानकारी दिए ।

साथै उनले महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने र महोत्सव अवधिभर १ लाख ५० हजारदेखि २ लाखसम्म दर्शक भित्र्याउने लक्ष्य राखिएको बताए । प्रदेशस्तरीय हुने भएकाले स्थानीय मौलिक कला, परम्परा, रीतिरिवाज र सांस्कृतिक एवम् प्राकृतिक सम्पदाहरूको पहिचान हुने गरी हरेक क्षेत्र, तह र तप्काबाट प्रचारको तयारी तीव्र पारिएको जनाए ।

मेलाको अवधिमा विविध विषयमा टक सो कार्यक्रम पनि सञ्चालन गरिने उनको भनाइ छ । स्थानीय रूपमा उत्पादित वस्तुको प्रदर्शन, कोहलपुरको पर्यटनको प्रचारप्रसार पनि गरिने उनले बताए ।

महोत्सवमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश र चौरमा लगाएका बिरुवाको विशेष संरक्षण गर्नुका साथै एम्बुलेन्स, सिसिक्यामराको समेत व्यवस्थापन गरिएको जानकारी दिए । साथै प्रचारप्रसारका लागि होडिङ बोर्ड, पोस्टर, माइकिङलगायत व्यवस्था उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ १७ गते बुधबार