एपिएफ स्कुल कोहलपुरले मनायो स्थापना दिवस



कोहलपुर ।
नेपाल एपिएफ स्कुल कोहलपुरले चौथो स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ । मंगलबार नेपाल एपिएफ स्कुल सशस्त्र प्रहरी बल नेपाल नं.६ विन्ध्यावासिनी बाहिनी रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीको प्रमुख आतिथ्यमा स्थापना तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक खत्रीले विद्यार्थी भनेका भविष्यका संवाहक भएकाले विद्यार्थीहरूको चौतर्फी विकासका लागि विद्यालय र अभिभावकको उत्तिकै भूमिका रहने बताए । विद्यार्थीहरूलाई मानसिक र शारीरिक रूपमा तन्दुरुस्त भई सामाजिक सेवामा समर्पित भई योग्य नागरिक बन्नका लागि प्रेरणा दिनु आवश्यक रहेको बाँके प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेले बताए ।

सीमा सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरक्षा कायम गर्ने कार्यमा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको पनि उनले बताए । एपिएफ स्कुलले बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नु आवश्यक रहेको उनको भनाइ थियो । छोटो समयमा पनि विद्यालयले हासिल गरेको प्रगति प्रशंसायोग्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवीण कँडेलले बताए ।

विद्यालयलाई प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण शुभचिन्तकहरूलाई उनले धन्यवाद व्यक्त गरे । ‘मानव उत्कृष्टताका लागि शिक्षा’ भन्ने विद्यालयको मूल नारा सबै अभिभावक तथा विद्यार्थीले अनुकरण गर्नुपर्ने कोहलपुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमालले बताए ।

विद्यालयलाई नियमित अनुगमन तथा सकारात्मक सल्लाह सुझाव दिई अब्बल विद्यार्थी निर्माण गर्नका लागि सबै लागिपर्नुपर्ने उनको भनाइ छ।
सो अवसरमा विद्यार्थीहरूको मार्च पास र विविध पहिचानसहितको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । विविध कार्यक्रममा उत्कृष्ट विद्यार्थी, कर्मचारी, शिक्षकलाई पुरस्कार तथा प्रशंसापत्रसमेत वितरण गरिएको थियो ।

सो अवसरमा भूपू सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू, राष्ट्रिय सेवा दल कौशिला नगरका प्रमुख, बाँकेका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालका विभिन्न गणका गणपति, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक, कोहलपुर नगरपालिकाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी, निर्माण व्यवसायीलगायत विद्यार्थीका अभिभावकहरूको उपस्थित रहेको विद्यालयका शिक्षक हरि देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधबार