नेपालगन्जका दुई सडक स्तरोन्नति गरिँदै



नेपालगन्ज ।
नेपालगन्जका फुटाहा सडक र पासाङ ल्हामु मार्ग अस्फाल्ट पिच हुने भएका छन् । नेपालगन्ज १९ फुटाहादेखि एसके डेरी उद्योगसम्म ३७५ मिटर लामो र ६ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने ५५० मिटर लामो र ८ मिटर चौडा पासाङ ल्हामु मार्ग अस्फाल्ट पिच हुने भएका हुन् ।

यी दुवै सडक स्तरोन्नति कार्यका नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेर काम सुरु भएका छन् । फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पिच हुन लागेको हो । ६० लाख बजेटमा बन्न लागेको उक्त सडक निर्माणको जिम्मा सात भाइ निर्माण सेवाले लिएको छ ।

असार १५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिए । त्यस्तै, नगरस्तरीय ७५ लाख बजेटमा अस्फाल्ट पिच हुन थालेको पासाङ ल्हामु मार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले बताए ।

नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिएका छन् ।
त्यसैबीच, बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण समेत सुरु गरिएको छ । बागेश्वरी काल भैरव कन्स्ट्रक्सनले ३० लाख बजेटमा पार्कको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेललगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले जानकारी दिए ।

असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रूपमा त्यस क्षेत्रलाई विकास गर्न चिल्ड्रेन पार्क बनाउने गरी नेपालगन्ज उपमहानगरपालिकाले काम थालेको छ । केही भागलाई पार्किङ स्थलका रूपमा छुट्ट्याउने योजना रहेको नगरपालिकाले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० माघ १५ गते सोमबार