इप्रका कोहलपुरको नागरिक सहायता कक्ष उद्घाटन



कोहलपुर।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सम्पूर्ण नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले इलाका प्रहरी कार्यालय कोहलपुरले निर्माण गरेको नागरिक सहायता कक्षको नवनिर्मित भवन आइतबार उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायत, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले संयुक्त रूपमा सो नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले इलाका प्रहरी कार्यालयले गरेको कामको मुक्तकण्ठले प्रशंसा गरे । कोहलपुरमा आफूले ठूला–ठूला र अत्याधुनिक भवनहरू उद्घाटन र शिलान्यास गरे पनि यो भवन उद्घाटन गर्दा बेग्लै सन्तुष्टिको अनुभूति भएको बताए । भवन कत्रो छ भन्ने भन्दा पनि भवन कुन उद्देश्यले निर्माण गरिएको छ त्यो महत्वपूर्ण कुरा भएको उनको भनाइ थियो ।

‘आकारमा भवन केही सानो छ, जस्ताको छानो छ,’ नगर प्रमुख आचार्यले भने, ‘तर यो भवन निर्माण गरिनुको उद्देश्य पवित्र छ । पवित्र उद्देश्यले बनाइएको भवन उद्घाटन गर्न पाउँदा आज बेग्लै सुखानुभूति भइरहेको छ ।’ उनले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले निर्मित भवन भएकाले यसको बेग्लै महत्व र गरिमा भएको उनले बताए । यो भवन निर्माण गरिनुको सन्देशले नै यसको औचित्य पुष्टि गरिरहेको उनको भनाइ थियो ।

उनले इप्रका कोहलपुरमा आगामी दिनमा आउने नेतृत्व वा कर्मचारीले पनि यस्ता सिर्जनात्मक र सुधारात्मक कामलाई निरन्तरता दिनुपर्ने बताए । आगामी दिनमा पनि यस्तै इमान्दार, दक्ष र सिर्जनात्मक प्रहरी कर्मचारी कोहलपुरमा खटाइदिन उनले कार्यक्रममा उपस्थित प्रदेश प्रहरी प्रमुखसँग आग्रह पनि गरे । कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै प्रदेश प्रहरी प्रमुख कुबेर कडायतले इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दरले कार्यालयलाई सुन्दर बनाएर सुन्दर काम गरेको बताए ।

एउटा खण्डहरलाई सुन्दरतामा परिणत गरेकोमा उनले सुन्दरलाई धन्यवाद दिँदै कार्यालय सौन्दर्यीकरणका साथसाथै सेवामा पनि सुन्दरता हुन र कर्मचारीको मन पनि सुन्दर हुन जरुरी रहेको बताए । ‘यो सुन्दर ठाउँमा बसेर सेवा गर्ने प्रहरी कर्मचारीले अझ मेहनतका साथ पारदर्शी भएर काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने । उनले प्रहरीले नागरिकमैत्री भएर काम गर्नुपर्ने बताए ।

प्रहरी नायब महानिरीक्षक कडायतले प्रहरीभित्र पनि असल प्रहरीको खोजीमा आफूहरू रहेको बताए । प्रहरीलाई अझ दक्ष, पारदर्शी र आमनागरिकको सेवामा समर्पित रहने प्रहरी कसरी बनाउने भनेर प्रहरी संगठनले सोचिरहेको उनको भनाइ छ । ‘हामी प्रहरीभित्र पनि असल प्रहरीको खोजीमा छौँ,’ नायब महानिरीक्षक कडायतले भने, ‘यसो भयो भने नागरिक र प्रहरीबीचमा जुन ग्याप छ त्यो सबै हट्नेछ ।’

अबको प्रहरी नागरिकमैत्री, नागरिकसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रहरी हुने उनले दाबी गरे । प्रहरीले आफूलाई यसरी सुधारिरहँदा यहाँको आमनागरिक समाज र यहाँका राजनीतिक दलहरूले समेत साथ दिनुपर्ने उनको भनाइ छ । त्यसैगरी कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्यालय सौन्दर्यीकरणले बेग्लै अर्थ राख्ने बताए । ‘जसरी हामी कतै बाहिर निस्किँदा चिटिक्क परेर निस्किन्छौँ, त्यसले एउटा व्यक्तित्व झल्काउँछ । त्यसैगरी कार्यालय पनि चिटिक्क भयो भने कार्यालयको व्यक्तित्व झल्किन्छ,’ प्रजिअ पोखरेलले भने, ‘कोहलपुर इप्रकाले व्यवहारमा त्यो कुरा लागू गरेको छ ।’

उनले जागिरमा दुई वटा मानसिकता हुने बताउँदै एउटा मानसिकताले जागिर मात्र खाने र अर्को मानसिकताले भएका स्रोत साधनको परिचालन गरेर केही सिर्जनात्मक काम गरौँ भन्ने सोच राख्ने उनको भनाइ थियो । ‘मैले कोहलपुर इप्रकाको नेतृत्व वा कर्मचारीमा यही पछिल्लो मानसिकता भएको पाएँ,’ उनले भने, ‘कोही न कोही व्यक्ति यस्तो नभए देश कसरी अगाडि बढ्न सक्छ र !’

कोहलपुर प्रहरी स्थानीय तहको साझेदारीमा सेवा सुधार तथा सौन्दर्यीकरणको काम गरेर अगाडि बढेकोमा खुसी व्यक्त गरे । स्रोत साधनको कमी भएका ठाउँमा यसरी नै ‘पार्टरसिप मोडल’मा महत्वपूर्ण काम गर्नसकिने उनको भनाइ थियो । केही गर्न चाहने कर्मचारीलाई यसरी नै काम गर्ने वातावरण सिर्जना गरिदिन पनि उनले राजनीतिक नेतृत्वलाई आग्रह गरे । ‘नियामक निकायलाई राजनीतिले काम गर्ने सहज वातावरण बनाइदिनुपर्छ,’ उनले भने, ‘तब मात्र मुलुकमा सुशासन कायम हुन सक्छ ।’

राजनीतिक दलहरूले राम्रो काम गर्ने कर्मचारीलाई स्याबासी दिनुपर्ने र प्रोत्साहन गर्र्नुपर्ने बताए । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले सेवा सुधार र कार्यालय सौन्दर्यीकरणका लागि कोहलपुर इप्रकाले गरेको कामको सराहना गर्दै जुन उद्देश्यका साथ सो भवन निर्माण गरिएको हो सो अनुसार उपयोग गरिनुपर्नेमा जोड दिए ।

संरचना निर्माण र सेवा सुधारबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले कोहलपुर नगरपालिका तथा आम कोहलपुरबासीको सहयोगमा संरचना निर्माण गरेर उपयोग गर्न सकिएकोमा कृतज्ञता व्यक्त गरे । उनले गास, बास र कपासपछिको शिक्षा र स्वास्थ्य जस्ता नागरिकका आधारभूत कुरालाई महत्व दिँदै नगरपालिकाले आवश्यक बजेट विनियोजन गरिदिएकाले सो संरचना निर्माण हुन सकेको बताए । कार्यालय सौन्दर्यीकरणका अलावा सेवामा समेत सुुधार ल्याउने प्रयास गरिएको उनले बताए ।

एक वर्षभित्र इप्रका कोहलपुरबाट १ हजार ८ सय ७३ जनालाई निःशुल्क निवेदन लेखिदिएर सहयोग गरिएको उनले जानकारी दिए ।
सेवा सुधार गर्ने क्रममा सो नागरिक सहायता कक्षमा छुट्टाछुट्टै बाल कक्ष, महिला तथा ज्येष्ठ नागरिक कक्ष, अपांगता सहायता कक्ष, सार्वजनिक धारालगायतका संरचना निर्माण गरेर सेवा दिइँदै आएको उनको भनाइ छ । कोहलपुर नगर विकास समितिको आर्र्थिक सहयोगमा सो भवन निर्माण गरिएको हो ।

कुल लागत २२ लाख ६२ हजार ५ सय ८ रूपैयाँ रहेकोमा करिब ३ लाख रूपैयाँबराबरको जनश्रमदान गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मानपत्र वितरण गरिएको थियो । त्यसैगरी, भवन निर्माणमा महत्वपूर्ण योगदान दिने १६ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा अतिथिहरूलाई मायाको चिनोसमेत प्र्रदान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ १५ गते सोमबार