सरुवाविरुद्धको रिट उच्च अदालतद्वारा खारेज



नेपालगन्ज ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले सरुवा बदरको मागसहित दायर गरेको रिट उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले खारेज गरेको छ ।

पौडेललाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले गत साउन ३१ गते स्वास्थ्य निर्देशनालय दाङमा सरुवा गरेको थियो । नियमित प्रक्रिया भएको जनाउँदै प्रदेश स्वास्थ्य मन्त्रालयले पौडेलसहित ठूलो संख्यामा प्रदेशका स्वास्थ्यका कर्मचारीको सरुवा गरेको थियो ।

अन्य सबै कर्मचारी सरुवा भएका स्थानमा रमाना बुझेर गए पनि स्वास्थ्य कार्यालय बाँकेकी प्रमुखसमेत रहेकी पौडेलले भने आफ्नो सरुवा गलत तरिकाले गरिएको जनाउँदै सो सरुवा बदरको माग गर्दै उच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाई दायर रिटको अन्तिम सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय टंक गुरुङ र गोविन्द जोशीको संयुक्त इजलासले पौडेलको रिट खारेज गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ १४ गते आइतबार