पञ्चेबाजा संरक्षणमा गृहिणी



गणेश रावत । कोहलपुर।
कोहलपुर नगरपालिका–१ कौशिलानगरका गृहिणी महिला पञ्चेबाजा संरक्षणमा जुटेका छन् । पछिल्लो समय आधुकितासँगै डिजे भित्रिएपछि पञ्चेबाज लोप हँुदै गएकाले गृहिणी पञ्चेबाजा संरक्षणमा जुटेका हुन् । २५ वर्षीय युवतीदेखि ६० वर्षीया वृद्धासम्म यो अभियानमा जुटेका छन् । यो अभियानमा पुरुषहरूले पनि साथ दिएका छन् ।

गृहिणी महिला एवम् पुरुष एकजुट भएर समूहमा आबद्ध भई पञ्चेबाजा संरक्षणमा जुटेको समूहका अध्यक्ष गगने दमाइले बताए । विसं २०७६ सालमा लालीगुराँस पञ्चेबाजा समूह स्थापना गरेर पञ्चेबाजा संक्षरणमा महिला÷पुरुष एकजुट भएर अघि बढेको उनले जानकारी दिए ।
समूहमा १५ महिला र १५ पुरुष गरी जम्मा ३० जना रहेका छन् ।

संस्कृति संरक्षणमा महिला गृहिणीहरू पनि जुट्न सक्छन् भन्ने सन्देश समूहले दिइरहेको अध्यक्ष दमाइको भनाइ छ । अरू बेला चुलो चौकोमा सीमित हुने गृहिणी महिलाहरू अहिले मेला तथा विभिन्न कार्यक्रममा पञ्चेबाजा बजाउन अग्रस्थानमा पुग्ने गरेको उनले बताए । पञ्चेबाजाको ठाउँमा डिजे बज्न थालेपछि पञ्चेबाजा लोप हुने अवस्था पुगेकाले यसको संरक्षणमा सबै एकजुट हुनुपरेको सीता परियारले बताइन् ।

समूह खोलेरै फरक तरिकाले पञ्चेबाजा संरक्षणमा लाग्नुपरेको परियारको कथन छ । समाजमा छोरीमान्छेले बाजा बजाउन हुँदैन भन्ने मान्यता रहेकोमा अहिले गृहिणीहरू नै बाजा बजाउन अघि सरेको उनले बताइन् । ‘पहिला समाजमा पञ्चेबाजा पुरुषले मात्रै बजाउने हो, महिलाले बजाउन हँुदैन भन्ने भ्रम थियो,’ उनले भनिन्, ‘तर अहिले त्यो भ्रम चिर्न हामी सफल भएका छौँँ ।’ अहिले मेला महोत्सवदेखि विभिन्न कार्यक्रममा बाजा बजाउन आउन आग्रह गर्ने गरेको उनले बताइन् ।

पुरुषभन्दा अहिले धेरै महिलालाई निमन्त्रणा बढी आउने गरेको उनले बताइन् । कुनै–कुनै ठाउँमा महिला पुरुष दुवै समूहलाई बोलाउने गरिएको उनले जानकारी दिइन् । कौशिलानगरका दलित समुदायले सुरु गरेको पञ्चेबाजा अभियानमा स्थानीय सरकारले समेत साथ दिएको छ । कोहलपुर नगरपालिकाले पञ्चेबाजा संरक्षणका लागि ३ लाख रूपैयाँ आर्थिक सहयोग गरेको उनले जानकारी दिइन् ।

यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवका बेलामा बजाउने गरिन्छ । विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाइँ, पूजा–आजालगायतका शुभ कार्यमा यो बाजाको बढी प्रयोग हुन्छ । परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दथे । हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरूमा महिलाहरूले समेत व्यावसायिक रूपमा बजाउन थालेका छन् ।

पञ्चेबाजा संरक्षमा जुटेकी अर्की महिला हुन् नमिता नेपाली । उनले पनि दमाहा बजाउन थालेको आठ वर्ष भए को छ । बाजे पुस्तादेखि आमा बुबाले बजाउन थालेको बाजा आफूले पनि बजाउन थालेको उनले बताइन् । बाजा बजाउन सुरु गर्दा धेरैले जिस्क्याउने गरेको उनको अनुभव छ ।

‘पहिला कुरा काट्नेहरू पनि अहिले राम्रो सुझाव दिइरहेका छन्,’ उनी भन्छिन् ।बाजामार्फत संस्कृति संरक्षण गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि आफूहरू संस्थागत रूपमा यो अभियानमा अघि बढेको उनीहरू बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ १४ गते आइतबार