नेपालगन्ज–काठमाडौँ बालेन सिटी एअर बस सञ्चालन



नेपालगन्ज ।
नेपालगन्जबाट काठमाडौँ आरामदायी यात्राका लागि बालेन सिटी मिनी स्लिपर एअर बस सञ्चालनमा आएको छ । नेपालगन्जको सुनौलो पञ्चदेवल यातायात प्रालिले सो बस सञ्चालनमा ल्याएको हो । सो बसको शुक्रबार लुम्बिनी प्रदेशकी सहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले उद्घाटन गरेकी छन् ।

बसको उद्घाटन गर्दै मन्त्री नमुनाले बालेन सिटी बस चढ्दा हवाईजहाज चढेको अनुभूति भएको बताइन् । उनले नेपालगन्जबाट यस्ता अत्याधुनिक बस सञ्चालनमा आउनु लुम्बिनी प्रदेश सरकारका लागि पनि गौरवको विषय भएको बताइन् । बसमा भएका सेवा सुविधाजस्तै यात्रुलाई पनि सहजताका साथ सेवा दिन उनले सुझाव दिइन् ।

सोही कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले बालेन सिटी बसले सुरक्षित यात्रा गराउनेमा आफू विश्वस्त रहेको बताए । सुनौलो पञ्चदेवल यातायात प्रालिका अध्यक्ष वसन्त मल्लले अन्य बसहरूको तुलनामा बालेन सिटी बसमा फरक सेवा रहेको बताए ।

उनले यात्रुहरूको यात्रालाई सहज र आरामदायी बनाउन हरेक बसमा २ जना दक्ष र अनुभवी चालक राखिएको जानकारी दिए । बालेन सिटी मिनी स्लिपर एअर बसमा निःशुल्क वाइफाइ, निःशुल्क पानी, सिसी क्यामेरा, मोबाइल चार्जर, चिसो तातो एसी र हिटरको सुविधा रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ १३ गते शनिबार