कोहलपुर ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) द्वारा आयोजित कोहलपुर नगरपालिकास्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले पानसमा बत्ती बालेर ब्यानर पढ्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै मेयर आचार्यले गुणस्तरीय शिक्षा प्रदान गर्नु सबैको साझा दायित्व भएको धारणा राखे । पाठ्यपुस्तक मात्रै रटायर नभई अतिरिक्त क्रियाकलाप र सामाजिक क्षेत्रमा पनि जोड दिएर विद्यार्थीलाई अध्यापन गराउनपर्ने उनको भनाइ थियो । नजिकबाट निहाल्दा संस्थागत विद्यालयहरूले अतिरिक्त क्रियाकलापलाई पनि नियमित क्रियाकलाप सँगसँगै लिएर गएको पाइएको उनले बताए ।
यो आफैँमा राम्रो पक्ष भएकाले स्थानीय सरकार सधैं सहयोगन गर्न तत्पर रहेको उनले जनाए । कोहलपुरलाई शैक्षिक हब बनाउन विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने उनको भनाइ थियो । यस्ता अतिरिक्त क्रियाकलापले बालबालिकाको प्रतिभा प्रस्फुटन गरी क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।
विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलाप कार्यक्रम आयोजना गरिएको नेशनल प्याब्सन कोहलपुर नगर कमिटी अध्यक्ष विष्णु केसीले जानकारी दिए । बालबालिकामा व्यक्तिपिच्छे क्षमता फरक–फरक रहेकाले क्षमता पहिचान गरी वृद्धि विकास गर्नु आवश्यक रहेको उनले जानकारी दिए ।
नेशनल प्याब्सनले विद्यार्थीलाई जहिल्यै पनि पहिलो प्राथमिकता राख्ने र विद्यार्थीहरूमा विभिन्न प्रतिभा उजागर गर्न कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए । पाठ्यपुस्तक मात्रै नभई व्यावहारिक ज्ञान, अतिरिक्त क्रियाकलाप र सामाजिक उत्तरदायित्व वहन गर्दै नेशनल प्याब्सनले विभिन्न कार्य गर्दै आएको जनाए ।
नेशनल प्याब्सनले कोहलपुरलाई शैक्षिक हब बनाउन इँटा थप्ने काम गरेको कोहलपुर सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्कर्माले बताए । दक्ष, सक्षम र सभ्य नागरिक बन्न शैक्षिक सँगसँगै अतिरिक्त क्रियाकलापको पनि उत्तिकै भूमिका रहेको उनले बताए ।
प्रतियोगितामा विभिन्न विधाका खेल सञ्चालन गरिएको थियो । ‘थ्रो बल इन बकेट’ विधा नर्सरीदेखि युकेजीमा फुलबारी एजुकेशनल एकेडेकीका सुप्रिम शाही प्रथम, पञ्चमुखी इमी सेकेन्डरीका बसन्त घर्ती द्वितीय र दिव्या विद्या सदनका किरण बम तृतीय भएका छन् ।
त्यस्तै, हिसाब दौड १–३ कक्षामा फुलबारी एजुकेशनल एकेडेकीका रिहान शाही प्रथम, कोहलपुर सिटी एकेडेमीका आरब खड्का द्वितीय र रुपचा बिलिभर्स सुभम थारू तृतीय भएका छन् । रिडिङ क्याम्प ४–५ कक्षासम्ममा जनज्योति पब्लिक हाइस्कुलका प्रिन्स घिमिरे प्रथम, कोहलपुर बागेश्वरी इमी स्कुलका हिमानी भट्टराई र सजन बम द्वितीय भएका छन् भने फुलबारी एजुकेशनल एकेडेमीका शिवराज जोशी तृतीय भएका छन् ।
स्लो साइकल रेस ६–८ कक्षामा फुलबारी एजुकेशनल एकेडेमी अनुज थारू प्रथम, कोहलपुर सिटी एकेडेमीका प्रशान्त सेर्पाली द्वितीय र वेस्टर्न सेकेन्डरी इमी स्कुलका प्रवेश डाँगी तृतीय भएका छन् । त्यस्तै, चेस ९–१२ कक्षासम्मको प्रतियोगितामा कोहलपुर बागेश्वरी इमी स्कुलका मानव न्यौपाने प्रथम, जनज्योति पब्लिक स्कुलका एकराज आचार्य द्वितीय र दिव्यविद्या सदनका जेनिस बोगटी तृतीय भएका छन् ।
सो अवसरमा उपस्थित अथितिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्