17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

अनुदानको मल बाटोमै गायब, सहकारीलाई दुई लाख जरिवाना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १२, २०८०  

नेपालगन्ज।
सरकारद्वारा अनुदानमा किसानहरूलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा गरेको अनुगमनमा नरैनापुरस्थित कृषि सहकारी ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड नरैनापुर–५ मटैया’मा कैफियत पाइएको हो ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट माघ ९ गते बुझिलिएको २ सय बोरा सरकारबाट अनुदान प्राप्त युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा युरिया मल फेला परेको, ६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाइ पेस भएको छ भने अझ बाँकी हुनुपर्ने १ सय ३० बोरा अनुदानित युरिया मल बाटोबाटै गायब भएको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

उक्त सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोता हित संरक्षण ऐनबमोजिम २ लाख रुपैयाँ जरिवाना गरी गोदाममा रहेको ६४ बोरा अनुदानित मल हाललाई सिल गरिएको उनले बताए । गायब भएको १ सय ३० बोरा मलका बारेमा ७ दिन भित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

नेपाल सरकारद्वारा अनुदानित मल तोकिएको सहकारीमार्फत तोकिएको क्षेत्रका किसानले पाए÷नपाएको सुनिश्चित गर्नका लागि प्रभावकारी रूपमा अनुगमन गर्न सबै स्थानीय तहहरूलाई पोखरेलले अनुरोधसमेत गरेका छन् ।

 

प्रकाशित मितिः शुक्रबार, माघ १२, २०८०     8:37:43 AM  |