कोहलपुर ।
स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा सुधार गर्दै कोहलपुर नगरपालिकाले सुशासनमा फड्को मारेको छ । नगरपालिकाले गत वर्ष आफैँले प्राप्त गरेको स्वमूल्यांकन अंकमा सुधार गर्दै सुशासनमा फड्को मारेको हो । आर्थिक वर्ष २०७९÷०८० मा नगरपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्यांकनमा ८७.७५ प्रतिशत अंक प्राप्त गरेको हो । गत आर्थिक वर्ष २०७८÷०७९ मा ७९ प्रतिशत र आव २०७७÷०७८ मा ४७.७६ प्रतिशत अंकमात्रै प्राप्त गरेको थियो ।
विधि र पद्धतिलाई कार्यान्वयन गर्दै संस्थागत सुधारमा सकारात्मक प्रतिफल आएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । संस्थागत सुधार ल्याउन जनप्रतिनिधि तथा कर्मचारी सबैको सामूहिक प्रयासले सफल भएको उनको भनाइ छ । पालिका सुशासन, पारदर्शी र जवाफदेही ढंगबाट चलेको लिजामा देखिएको अंकले स्पष्ट पारेको नगर उपप्रमुख संगीता सुबेदीले बताइन् । उनले कुपन प्रणाली खारेज र कोटेसनलाई निरुत्साहित गरिएको बताइन् ।
अंक हेर्दा नगरपालिकाले संस्थागत सुधारमा फड्को मारेको छ । संस्थागत सुधार समग्रमा एक सय अंकलाई आधार मानेर मूल्यांकन गर्ने गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । वार्षिक बजेट तथा योजना व्यवस्थापन र वित्तीय तथा आर्थिक व्यवस्थापनमा नगरपालिकाले शतप्रतिशत ११ मा ११ अंक नै प्राप्त गर्न सफल भएको बताए ।
स्वमूल्यांकनमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्