16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बाँके सिडिओका सय दिन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १२, २०८०  

नेपालगन्ज ।
बाँकेका प्रमुख जिल्लाका अधिकारी श्रवणकुमार पोखरेलले सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत प्रगति विवरण सार्वजनिक गरेका हुन् ।उनले धार्मिक सद्भाव कायम राख्न मुख्य चुनौतीको रूपमा रहेको तात्कालिन संवेदनशील मुद्दा ‘दुर्गा पूजा मूर्ति बिसर्जन कार्यक्रम’ शान्त वातावरणमा सम्पन्न भएको उल्लेख गरेका छन् ।

जाजरकोट भूकम्पका घाइतेको उपचार तथा राहत व्यवस्थापनमा बाँके प्रशासनबाट उल्लेखनीय भूमिका निर्वाह भएको जनाएका छन् ।
बिचौलियारहित सेवाको सुरुवात भएको (निःशुल्क अनलाइन फाराम भरिदिने सुविधाको ग्यारेन्टी) भएको, एकै दिनमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवाको ग्यारेन्टी (समय बुक गर्नु नै नपर्ने ), अनावश्यक सेवा प्रवाह प्रक्रिया कटौती गरी सरल तुल्याइएको जनाएका छन् ।

इलाका प्रशासन कोहलपुरलाई पूर्ण अधिकार प्रत्यायोजन गरेको, तारिखमाथि तारिखको अन्त्य गर्न फास्ट ट्रयाकबाट मुद्दाको फैसला गरेको, उपभोक्तामैत्री बजार निर्माणका लागि सघन अनुगमन तथा सेवा सुविधामा बन्दीको प्रत्यक्ष पहँुचको पद्धति सुरु गरिएको जनाएका छन् ।
नागरिक पृष्ठपोषणका लागि क्युआर कोडको प्रयोगको यस भेगमै पहिलो सुरुवात गरिएको, नियामक निकायहरूको समन्वयात्मक परिचालनमार्फत राजस्व चुहावट नियन्त्रण र मुद्दा दर्तातर्फ ६ गुणाले बढोत्तरी भएको उल्लेख छ ।

कार्यालय सौन्दर्यीकरण अभियान सञ्चालन भइरेहेको, श्रीराम मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रमको सन्दर्भमा बाँकेमा सञ्चालित धार्मिक अनुष्ठान अपेक्षित शान्त वातावरणमा सम्पन्न भएको, शीतलहर व्यवस्थापनमा पूर्व क्रियाशील भूमिका निर्वाह भएको पोखरेलले जनाएका छन् ।

प्रकाशित मितिः शुक्रबार, माघ १२, २०८०     8:27:31 AM  |