16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

सुर्तीजन्य पदार्थको बेचबिखन रोक्न अल्टिमेटम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १०, २०८०  

नेपालगन्ज ।
आगामी १ वैशाखदेखि नेपालगन्ज उपमहानगरपालिकामा सुर्तीजन्य पदार्थ पूर्ण रूपमा निषेध गरिने भएको छ ।  नेपालगन्जका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले १ वैशाख २०८१ देखि नगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्रीवितरण पूर्ण रूपमा निषेध गर्ने गरी तयारी गर्ने निर्णय गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

बैठकले सुर्तीजन्य पदार्थबाट हुने हानिनोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयमा सुर्तीजन्य पदार्थको उपभोग तथा वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने एवं सुर्तीजन्य पदार्थको उत्पादन र बिक्रीवितरण गर्ने निकाय एवं व्यवसायीको तथ्यांक संकलन गर्ने निर्णय भएको चन्दले जानकारी दिए ।

‘वैशाख १ देखि नगरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको छ । त्यसअघि सचेतना प्रवद्र्धनसँगै तयारी अभियान चलाउँछौँ,’ नगर प्रमुख विष्टले भने । नेपाल सरकारका उपसचिव पुष्कर नेपालले संघीय ऐनमा सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले तदारुकता देखाउन आवश्यक रहेको बताए ।

प्रकाशित मितिः बुधबार, माघ १०, २०८०     9:36:44 AM  |