17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

प्रथम बैजनाथ प्रादेशिक महोत्सव आज उद्घाटन हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १०, २०८०  

कोहलपुर ।
प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव आजबाट सुरु हुँदै छ । मेला उद्घाटनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा मेलाको सम्पूर्ण अन्तिम चरणमा पुगेको आयोजनकले जनाएको छ । बैजनाथ गाउँपालिकामा पहिलो पटक सुरु हुन लागेको महोत्सवको आयोजना नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथले गर्न लागेको हो ।

आजबाट सुरु भएको महोत्सव माघ २१ गते (१२ दिन)सम्म सञ्चालन हुने जनाइएको छ । मेलाको उद्घाटन समारोहमा सहभागिता जनाउन बैजनाथ आइपुगेका नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले मेला सफलताको शुभकामना व्यक्त गर्दै मेलाले यस क्षेत्रको घरेलु तथा साना उद्योग प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

स्थानीय स्तरमा रहेका कच्चा पदार्थबाट उत्पादित बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले घरेलु महासंघले पालिकास्तरमा यस्ता मेला आयोजना गर्ने गरेको र यसबाट स्थानीय उपभोक्ता लाभान्वित हुने उनले बताए ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथका अध्यक्ष दुर्गाबहादुर घिमिरेले मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यसबाट विपन्न वर्गलाई कृषि तथा आयआर्जनमा जोड्ने मेलाको मुख्य उद्देश्य रहेको बताए ।

‘हामीले पहिलोपटक यो महोत्सव आयोजना गर्न लागेका हौँ,’ अध्यक्ष घिमिरेले भने, ‘त्यसैले सबैको साथ सहयोगमा छोटै समयमा हामीले तयारी पूरा गर्न सकेका छौँ ।’ उनले मेलामा बाँकेका आठै पालिकालाई पत्राचार गरिसकिएकाले मेला भव्य रूपमा सफल हुने विश्वास व्यक्त गरे ।‘कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृतिको पहिचान, विकास र समृद्वि बैजनाथको अभियान’ भन्ने मूल नाराका साथ बैजनाथ गाउँपालिका–५ स्थित कोहलपुर न्युसिटीमा महोत्सव सञ्चालन हुँदै छ ।

बैजनाथ गाउँपालिकाभित्र पहिलो पटक सञ्चालन हुन लागेको महोत्सवमा गाउँपालिकालगायतका सबैको साथ सहयोग रहेको मेला प्रचारप्रसार संयोजक एवम् संघका उपाध्यक्ष सुमन विश्वकर्माले जानकारी दिए । महोत्सवमा स्थानीय कला, संस्कृति, कृषि तथा घरेलु उत्पादन, भेषभूषा, मौलिक तथा सांस्कृतिक महत्वका बस्तुको प्रदर्शनी हुने उनले जनाए ।

प्रकाशित मितिः बुधबार, माघ १०, २०८०     9:21:13 AM  |