नेपालगन्ज ।
चालू आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्म पनि नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । देशभरका भन्सार कार्यालयजस्तै यो भन्सारले पनि राजस्व संकलनको लक्ष्य भेट्टाउन नसकेको हो । साउन महिनामा १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ लक्ष्यमा १ अर्ब ४१ करोड ४० लाख, भदौमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ लक्ष्यमा १ अर्ब ४५ करोड ११ लाख, असोजमा २ अर्ब ४४ करोड ५३ लाख लक्ष्यमा १ अर्ब ४८ करोड ६० लाख, कात्तिकमा २ अर्ब ३८ करोड ९१ लाख लक्ष्यमा १ अर्ब २४ करोड २१ लाख, मंसिरमा २ अर्ब ५२ करोड ३६ लाख लक्ष्यमा १ अर्ब ५५ करोड ८९ लाख र पुसमा २ अर्ब ५६ करोड ६० लाख लक्ष्य तोकिएकोमा १ अर्ब ५३ करोड ५५ लाख रुपैयाँ मात्र राजस्व असुली भएको छ ।
विगतमा राजस्व असुलीमा योगदान गरेका सामग्रीमा भएको आयातको कमीले राजस्व लक्ष्यअनुसार संकलन हुन नसकेको नेपालगन्ज भन्सारका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले बताए । उनले भने, ‘आयातको कमीले देशभरका भन्सारजस्तै नेपालगन्जमा पनि लक्ष्य भेट्न चुनौती भएको छ । तर गत आर्थिक वर्षभन्दा राजस्व असुली अलि बढी नै संकलन भएको छ ।’ लम्सालका अनुसार गत आर्थिक वर्षको पुस महिनामा लक्ष्यको ५६.३१ प्रतिशत राजस्व संकलन भएकोमा चालु आवको पुस महिनामा भने थोरै बढेर लक्ष्यको ५९.८४ प्रतिशत राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए ।
लम्सालका अनुसार राजस्व संकलनमा योगदान दिँदै आएका चामल, सुपारीलगायतका केही बस्तुको आयात घटेका कारण राजस्व संकलन प्रवाभित भएको हो । राजस्व सोचेअनुरूप संकलन हुन नसक्नु चोरी, तस्करी मुख्य रहेको स्थानीयको भनाइ छ । यो भन्सारबाट खोटो रोजिन, जडीबुटी, प्लास्टिकको नालीपाइप, दाल, चिनी, चोकर, भुस, प्लास्टिक बोतल, बियर पुराना कपडा तथा लुगाफाटा, प्लास्टिक पाइप फिटिङ, मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता सामान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।
आयातीत वस्तुमा एमएस ब्लेट, डिजेल, पेट्रोल जिप, कार भ्यानलगायतका सवारी साधन पेट्रोलियम पदार्थ, कोइला, पोलिथिन दाना, तेल, मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, खाद्यान्न, माछा, विद्युतीय सामग्री प्रमुख रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्