कोहलपुर ।
कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार पारेको छ । कक्षा १ देखि ५ सम्म तयार उक्त पाठ्यपुस्तक कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्वारा सोमबार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
पाठ्यपुस्तक सार्वजनिक गरिएसँगै चालू शैक्षिक सत्रदेखि कोहलपुर नगरपालिकाका ३१ सामुदायिक र ४९ संस्थागत विद्यालयमा ‘हाम्रो कोहलपुर’ पाठ्यपुस्तक पढाइ हुने शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रविलाल मिजारले जानकारी दिए ।
सातवटा एकाइ र विभिन्न पाठ समेटेर हाम्रो कोहलपुर पुस्तक तयार पारिएको छ । जसमा कोहलपुरको परिचय, कोहलपुरमा मानवनिर्मित सम्पदाको महत्व र विशेषताहरू, हाम्रा विकासका पूर्वाधारहरू, हाम्रो पेसा, व्यवसाय र प्रविधि, खुसीका लागि शिक्षा र जीवनपयोगी सीप, हाम्रो वातावरण र विपद् व्यवस्थापनलगायतका विषयलाई समेटेर पाठ्यपुस्तक तयार पारिएको विज्ञ ऋषि शर्माले जानकारी दिए ।
‘स्थानीय स्रोत साधन, स्थानीय विज्ञ र स्थानीय विषयलाई समेटेर पुस्तक तयार पारिएको छ,’ उनले भने, ‘कक्षा १ देखि ५ सम्म सात एकाइ छन् । तर विषयवस्तुको गहिराइलाई कक्षा अनुसार बढोत्तरी गरिएको छ ।’ कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा भएको पाठ्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले स्थानीय स्रोत साधनको उपयोग र स्थानीय विज्ञहरूको विज्ञताबाट लेखिएको पुस्तक विद्यार्थीका लागि मात्रै नभएर कोहलपुरबासी सबैका लागि उपयोगी भएको बताए । उनले कक्षा ६, ७ र ८ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाए ।
पुस्तकले स्थानीय भाषा, कला संस्कृति, भूगोल, पर्यटन, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पूर्वतयारीलगायत बालबालिकालाई श्रम, सिर्जना र ज्येष्ठ नागरिकप्रतिको सम्मान गर्ने तौरतरिकासमेत सिकाएको उल्लेख गरे । यस्तै, नगर उपप्रमुख संगीता सुबेदीले कोहलपुरको पहिचानका लागि स्थानीय पाठ्यपुस्तक उपयोगी भएको बताइन् । उनले आफू बसेको भूगोल, पहिचानबारे हरेक विद्यार्थीलाई जानकारी हुनु अपरिहार्य रहेको समेत बताइन् ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पुस्तक कहिले पनि पूर्ण नहुने भन्दै आवश्यकताका आधारमा संशोधन गर्दै लैजानुपर्ने बताए । उनीहरूले नगरपालिकाले सुखद सुरुवात गरेको भन्दै प्रशंसासमेत गरेका थिए । कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमाल, विज्ञहरू खोपीराम वली, सुमित्रा न्यौपानेलगायतले आ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा पुस्तक निर्माणमा योगदान पु¥याएको भन्दै विज्ञहरूलाई सम्मानितसमेत गरिएको थियो ।
स्थानीय पाठ्यपुस्तक तयारी गरी कार्यान्वयनमा ल्याउने कोहलपुर नगरपालिका बाँकेको पहिलो पालिका बनेको छ । अन्य पालिकाहरूले मातृभाषामा पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याए पनि स्थानीय पाठ्यपुस्तक भने कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्