16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

राममन्दिरको प्राण प्रतिष्ठा आज, बाँकेमा पालिकापिच्छे सार्वजनिक बिदा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ ८, २०८०  

नेपालगन्ज ।
सोमबार भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुँदै छ । त्यसै विषयमा हिन्दु सम्प्रदायले उत्सव मनाइरहेका छन् । बाँकेको नेपालगन्जलगायतका पालिकाले त सार्वजनिक बिदा नै दिएका छन् भने यस अवसरमा भजनकृतन, शोभा यात्रा तथा विभिन्न धार्मिक गतिविधि भइरहेका छन् । नेपाल भगवान् रामको ससुराली अर्थात माता सीताको माइती हो ।

त्यसैले राममन्दिरको प्राण प्रतिष्ठा यहाँका हिन्दु सम्प्रदायको पनि चासो र उत्सवको विषय बनेको हो । राममन्दिर प्राण प्रतिष्ठाका कारण बाँकेमा सुरक्षा व्यवस्था पनि कडाइ गरिएको छ । नाका प्रवेश र आन्तरिक सुरक्षा चुनौतीको विश्लेषणका आधारमा सुरक्षा निकाय परिचालित छन् । दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले आवश्यक सुरक्षा व्यवस्थाका बारेमा आवश्यक रणनीति बनाइरहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले राममन्दिर प्राण प्रतिष्ठाको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता कायम राख्दै यसलाई सभ्य र भव्य तरिकाले हर्षोल्लासका साथ सफल पार्न आग्रह गरेका छन् । साथै यस अवसरमा नगरभित्रका सम्पूर्ण निजी, धार्मिक तथा सामुदायिक विद्यालयहरूमा एक दिन पठनपाठन बन्द रहने जानकारी दिए ।

त्यसैगरी नरैनापुर गाउँपालिकाले पनि सो अवसरमा पालिकाभित्र बिदा दिने निर्णय गरेको छ ।धार्मिक कार्यक्रमहरूलाई शान्त, सौम्य, मर्यादित र सद्भावपूर्ण तुल्याउन धार्मिक तथा सामाजिक सद्भाव समिति बाँकेले सार्वजनिक अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको विशेष अनुरोधमा मदिरा व्यवसायी संघ बाँके, नेपालगन्ज उद्योग वाणिज्य संघ एवम् होटल व्यवसायी संघ बाँकेको संयुक्त रूपमा बसेको बैठकको निर्णय अनुसार सोमबारका दिन मदिराको बेचबिखन सीमित गरिएको छ ।

माघ ८ गते सोमबारका दिन बिहान ७ बजेदेखि राति १० बजेसम्मका लागि बाँके जिल्लाभित्र रहेका मदिरा व्यवसायीका वितरक, थोक बिक्रेता एवम खुद्रा बिक्रेताहरूले आ–आफ्नो व्यवसाय पूर्णरूपले बन्द गरिदिन आग्रह गरिएको मदिरा व्यवसायी संघ बाँकेका अध्यक्ष मिमबहादुर सिंह ठकुरीले जानकारी दिए ।

साथै उक्त सूचनालाई बेवास्ता र पालना नगरी कार्य गर्दा सम्बंधित निकायबाट कुनै प्रकारको कारबाही हुन पुगेमा आफ्नो संघले त्यस्ता व्यवसायीहरूको विषयमा कुनै पहल नगर्ने पनि जनाइएको छ ।

प्रकाशित मितिः सोमवार, माघ ८, २०८०     9:56:13 AM  |