नेपालगन्ज।
‘वाइल्डलाइफ टुरिजम’का लागि विश्वमै नाम कमाएको बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०८०÷८१ को ५÷६ महिना अर्थात पुसभित्र मात्रै नेपाली र विदेशीसहित १४ हजार ५ सय ४९ जनाले निकुञ्ज अवलोकन गरेका छन् । यही अवधिमा गत वर्ष ९ हजार ६ सय ९३ जनाले निकुञ्ज अवलोकन गरेका थिए ।
निकुञ्जले दिएको जानकारी अनुसार चालु आवको पुस मसान्तसम्म आन्तरिक पर्यटक ११ हजार ३९, सार्क देशका ६ सय ५६, तेस्रो देशका २८ सय ५४ ले बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन् । यही ६ महिनाको अवधिमा गत वर्ष नेपाली ६ हजार ५ सय ४१, सार्क ५ सय १, अन्य २ हजार ६ सय ५१ जम्मा ९ हजार ६ सय ९३ जना पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यसपटक दोब्बर आन्तरिक पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज बाघ संरक्षणका लागि प्रख्यात छ । पूर्णतया तराई क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य नै बाघको संरक्षण भए पनि हात्ती, गैँडा, बाह्रसिंगा, घडियाल गोही, डल्फिन जस्ता लोपोन्मुख वन्यजन्तुहरू यहाँ संरक्षित छन् । बर्दिया निकुञ्जमा तिनै लोपोन्मुख वन्यजन्तु हेर्न पर्यटक पुग्ने गर्दछन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोककुमार रामले पर्यटकको संख्यासमेत बढ्न थालेको बताए । विशेषगरी पर्यटकहरू बर्दिया बाघ हेर्न नै आउने गर्छन् । बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणका लागि आउने धेरै पर्यटक बाघ देखेरै फर्किने गरेका छन् ।
यस्तै, बर्दिया पर्यटनका हिसाबले समेत महत्वपूर्ण मानिन्छ । बर्दियाको पर्यटन प्रवद्र्धनका लागि हरेक पालिकाहरूले विशेष ध्यान दिन थालेका छन । संरक्षणका हिसाबबाट पनि बर्दिया अगाडि नै रहेको छ । बर्दियाका स्थानीयबासीहरूको सहयोगमा संरक्षण कार्यमा सफलता हासिल गर्न सकिएको निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्