बैजनाथ ।
बैजनाथ गाउँपालिकाद्वारा सञ्चालित दोस्रो उपप्रमुख कप तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शनिबार समापन भएको छ । माघ ३ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार एक समारोहका बीच समापन गरिएको हो । खेलका माध्यमबाट बालबालिकाको चौतर्फी विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए ।
उनले खेलकुदका माध्यमले नयाँ खेलाडीले आफ्नो क्षमता प्रस्फुटन गर्ने अवसर प्राप्त गर्ने र पुरानाले निखारिने अवसर पाउने उनको भनाइ थियो । प्रतियोगितामा १५ वटा स्वर्ण, १५ रजत र ७ कास्य पदक जित्दै प्रभात मावि पहिलो भएको छ । ९ स्वर्ण, २ रजत र ४ कास्य पदक हात पार्दै सूर्योदय माविले दोस्रो स्थान हासिल गरको छ । त्यस्तै, हिमालय विद्या निकेतन ६ स्वर्ण, ३ रजत र ५ कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा आएको छ ।
त्यस्तै जनता आदर्श मावि जब्दहवाले ६ स्वर्ण, १ रजत र ८ कास्य हासिल गरेको छ। बागेश्वरी मावि गाभरले १ स्वर्ण, ५ रजत र २ कास्य प्राप्त गरेको छ । नेपाल राष्ट्रिय माविले १ स्वर्ण, १ रजत प्राप्त गरेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मूल नाराका साथ बैजनाथ गाउँपालिका–६ लालपुरमा सञ्चालित प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालय गरी कुल ४२ बिद्यालयबाट १ हजार ५ सय विद्यार्थीले सहभागिता जनाएको सचिवालय संयोजक सुरेन्द्र दाहलले जानकारी दिए ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल,कबड्डी र मार्सल आर्टतर्फ कराँते र तेक्वान्डो विधामा खेल सञ्चालन भएको दाहलले बताए । त्यस्तै, प्रतियोगिताबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि तेक्वान्डोबाट १२ स्वर्ण विजेता खेलाडी छनोट भएका छन् ।
समापन समारोहमा बोल्दै स्थानीय बैजनाथ खेलकुद विकास समिति संयोजक महावीर थारूले सरकारबाट खेलाडीहरूलाई आवश्यक सहयोग प्राप्त हुने जानकारी दिए । गत वर्ष जिल्लामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई नगदसहित प्रोत्साहन गरिएकोमा यस वर्ष उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई पनि नगदसहित सम्मान गरिने संयोजक थारूले बताए ।
प्रतिक्रिया दिनुहोस्