सुर्खेत । बसको टिकट काट्ने विषयलाई लिएर सुर्खेतमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको छ । वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात व्यवसायी कर्मचारीबीच झडप हुँदा एक जना घाइते भएका छन् ।
भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात प्रालिका कर्मचारीबीच आज बिहान झडप भएको हो । झडपमा संयुक्त यातायात व्यवसाय प्रालिका कर्मचारीले भिजिट कर्णाली यातायात प्रालिका कर्मचारीमाथि आक्रमण गरेको सुर्खेत प्रहरीले जनाएको छ ।
बुलबुले गेटनजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको भिजिट कर्णाली यातायातले जनाएको छ । त्यसपछि दुई समूहबीच झडप भएको थियो ।
सुर्खेतमा सञ्चालित दर्जन बढी पुराना यातायत व्यवसायीहरुले संयुक्त यातायत व्यवसायी नाममा एलायन्स बनाएका छन् ।
‘हामीले कसैलाई घोचपेच गरेका छैनौं । आफ्नै तरिकाले काम गरिरहेका छौं । कुनै कारणबिना एक्कासि आएर हाम्रा कर्मचारीमाथि हातपात गरियो,’ भिजिट कर्णाली यातायातका प्रकाश खड्काले भने, ‘पुराना व्यवसायीहरूले संयुक्त यातायातका नाममा सिन्डिकेट लगाएका छन् । नयाँ आउने प्रतिस्पर्धी व्यवसायीहरूमाथि चौतफी प्रहार गर्दै आएका छन् ।’ भिजिट कर्णाली यातायात प्रालि हालसालैदेखि सञ्चालनमा आएको बस व्यवसायी संस्था हो ।
दुई समूहको झड्पपछि रत्न राजमार्गमा चल्ने साना तथा ठूला सवारीसाधन ठप्प भएका छन् ।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए । ‘घटनास्थलमा ठुलो मात्रामा प्रहरी परिचालन गरेका छौं । दुई समूहलाई एक ठाउँमा राखेर विवाद समाधानको प्रयास भइरहेको छ,’ प्रवक्ता खड्काले भने ।
प्रहरीका अनुसार घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भरहेको छ ।
प्रतिक्रिया दिनुहोस्