16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

खजुरामा मेयर रनिङ शिल्ड हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ ६, २०८०  

बाँके।
खजुरामा आइतबारदेखि पालिकास्तरीय छैटौं अन्तरविद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको सञ्चालन तथा व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।
माघ ७ देखि १० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू शुक्र भलिबल स्टेडियममा हुनेछन् ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक खजुरा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष छवि विष्टले जानकारी दिए ।
प्रतियोगितामा मावि तह (कक्षा ९–१२) मा १५ खेल, आधारभूत तह (कक्षा ६–८) मा ५ खेल र आधारभूत तह (कक्षा १–५) मा ३ खेल समावेश गरिएको विष्टले जानकारी दिए ।

मावि तहमा भलिबल, कबड्डी, चेस र एथलेटिक्सका खेलहरू समावेश गरिएको छ । एथलेटिक्सको ट्र्याकअन्तर्गत १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र ३००० मिटर, ४ गुणा १०० र ४ गुणा ४०० मिटर रिले दौड समावेश गरिएको छ । फिल्डतर्फ हाइजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपट खेलमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

आधारभूत तह (कक्षा ५–६) मा एथलेक्सको १०० मिटर, ४ गुणा १०० मिटर र ८०० मिटर दौड, फिल्डमा लङजम्प र सटपट खेल समावेश गरिएको छ । आधारभूत तह (कक्षा १–५) सम्म ४ गुणा ५० मिटर रिले, १०० मिटर दौड, लङजम्पमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

यसैगरी चेस प्रतियोगितामा खजुरा गाउँपालिकाभित्र रहेका विद्यालयहरूबाट एक–एक जना छात्र–छात्राहरूको सहभागिता रहनेछ । खजुरा गाउँपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा पालिकाभित्र रहेका निजी तथा संस्थागत गरी करिब ७० विद्यालयहरूको सहभागिता रहने जनाइएको छ ।

प्रकाशित मितिः शनिबार, माघ ६, २०८०     8:59:28 AM  |