नेपालगन्ज।
नेपालगन्जमा पर्यटकीय गतिविधिलाई प्रोत्साहित गर्न दैनिकजसो अनेक कार्यक्रम भइरहन्छन् । तर भारतका कारण यो नाका हुँदै आउने तेस्रो मुलुकका पर्यटकको आगमन कोभिड–१९ पछि ठप्प प्रायः रहेको तथ्यका बारेमा कोही बोल्दैनन् । उक्त विषय कसैको चासोभित्र परेको छैन ।
कोभिडका कारण उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै २०७६ फागुनतिर भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएको थियो ।
जसका कारण भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द थियो । तर कोभिड समस्या समाधान भइसकेपछि भैरहवालगायतका अन्य स्थलमार्गबाट पर्यटकको आवागमन सुचारु भए पनि नेपालगन्ज र सुदूरपश्चिमका नाकामा भने सुचारु हुन सकेको छैन ।
‘खासमा हाम्रोतिर भन्दा पनि रुपैडियास्थित भारतीय अध्यागमनमा अनलाइन नहुने भएका कारण समस्या उत्पन्न भएको छ,’ अध्यागमन कार्यालय नेपालगन्जकी प्रमुख दुर्गा ओलीले भनिन्, ‘अनौपचारिक कुराकानीमा उहाँहरूले आफ्नोतिर अनलाइन इन्ट्री नभएको बताउनुहुन्छ।’ रुपैडियास्थित भारतीय अध्यागमन कार्यालयले ‘इन्ट्री’ नगर्दाकै कारण यो नाका हुँदै तेस्रो देशका पर्यटक आवागमन गर्न सक्दैनन् ।
अध्यागमन कार्यालय प्रमुख ओली भन्छिन्, ‘रुपैडियास्थित भारतीय अध्यागमनले इन्ट्री नै नगर्ने भएपछि हाम्रोतिरबाट पर्यटकको आवागमन ठप्प छ ।’ रुपैडियास्थित भारतीय अध्यागमन कार्यालयले केही काम नगर्दा न त त्यहाँबाट तेस्रो देशका पर्यटक नेपालगन्ज आउन सक्छन्् न त यहाँबाट भारत नै प्रवेश गर्न पाउँछन् ।
त्यसो हुन नसकेपछि नेपालगन्जलाई ट्रान्जिट बनाएर नेपाल–भारत घुम्न आउने पर्यटक आवागमनको संख्या शून्यमा झरेको पौडेलको भनाइ छ । नेपालगन्जबाट पर्यटकका लागि इन्ट्री हुने व्यवस्था नभएपछि पर्यटकहरू अर्को विकल्पका रूपमा भैरहवा जान्छन् । नेपालगन्ज नाकाबाट तेस्रो देशका पर्यटक आउन मिल्ने गरी रुपैडियास्थित भारतीय अध्यागमन कार्यालयले किन काम सुरु गर्न सकेको छैन भन्नेमा स्वयम् कर्मचारी आश्चार्यचकित छन् ।
यस सम्बन्धमा पर्यटन विभागसमेत जानकार छ तर भारतसँग कुराकानी गरेर काम सुचारु गर्ने वातावरण बनाउन सकेको छैन ।
अध्यागमन कार्यालय नेपालगन्जका अनुसार कोभिड अघिसम्म वार्षिक ६ सयजति तेस्रो मुलुकका पर्यटन नेपालगन्ज नाका हुँदै प्रवेश गर्थे । यसरी प्रवेश गरेका पर्यटकले पश्चिम नेपालका पर्यटकीय स्थल भ्रमण गरी काठमाडौं जान्थे भने काठमाडौंमा ओर्लिएका पर्यटक पश्चिमका विभिन्न पर्यटकीय स्थल घुमेर नेपालगन्ज नाका हुँदै भारत जान्थे । तर अहिले यो सबै काम ठप्प छ ।
‘कार्यालय खोल्ने र बस्ने काम मात्रै भएको छ । अरू त खासै केही काम छैन,’ कार्यालय प्रमुख ओलीले भनिन्, ‘अनौपचारिक कुरा गर्दा नेपालगन्ज भन्सार जाँच चौकी सञ्चालनमा आएपछि त्यहीँबाट पर्यटक आगमनको काम सुचारु हुन्छ कि भन्ने आशा पलाएको छ ।’
प्रतिक्रिया दिनुहोस्