हाप्किडो च्याम्पियनसिप प्रतियोगिता हुने



नेपालगन्ज।
नेपालगन्जमा राष्ट्रियस्तरको हाप्किडो च्याम्पियनसिप प्रतियोगिता आयोजना हुन लागेको छ । सो प्रतियोगिताका संयोजक तथा हाप्किडो संघ नेपालका केन्द्रीय सदस्य मोहसिन हलवाईले नेपालगन्ज रंगशालामा माघ २६ र २७ गते सो राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।

उनले सो हाप्किडो च्याम्पियनसिपमा सातवटै प्रदेश र नेपाल प्रहरीको स्कुल गरी आठ टिमका खेलाडीको सहभागिता रहने जनाउँदै प्रतिस्पर्धामा फाइटरतर्फ महिला र पुरुष दुवैमा आठ–आठ तौल समूहमा प्रतिस्पर्धा गराइने बताए । संयोजक हलवाईका अनुसार च्याम्पियनसिपमा ४० केजीदेखि ६८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

आयोजकले च्याम्पियनसिपमा सहभागी हुन आउने सबै खेलाडी, प्रशिक्षक, रेफ्री, जज र निर्णायकको खाने र बस्ने खर्च व्यहोर्ने जनाएको छ।हाप्किडो खेलको विकास तथा विस्तार गर्दै यस खेललाई जनजीवनको अभिन्न अंग बनाउन शारीरिक, मानसिक, बौद्धिक र नैतिक क्षमतायुक्त मानवको विकास गरी खेललाई रोजागारमूलक व्यवसायको रूपमा स्थापित गर्ने उद्देश्यले सो च्याम्पियनसिप गर्न लागिएको बताइएको छ ।

उक्त च्याम्पियनसिप आयोजनाका लागि ६६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका संयोजक हलवाईले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार