विज्ञान शिक्षक कोहलपुर समिति गठन



कोहलपुर।
कोहलपुरमा विज्ञान शिक्षक समाजको गठन भएको छ । कोहलपुरमा हालै सम्पन्न विज्ञान शिक्षकहरूको अधिवेशनले सिद्धार्थ मावि रझेनाका विज्ञान शिक्षक रन्जना रानाको अध्यक्षतामा विज्ञान शिक्षक समाज नेपाल (स्टान) कोहलपुर नगर समिति गठन गरेको
हो ।

विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशका संयोजक यमनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन नेपालगन्ज उपमहानगरपालिकाका विज्ञान शिक्षक समाज नेपालका अध्यक्ष यमनारायण धितालले गरेका थिए । कार्यक्रम स्टान तदर्थ समिति बाँकेका संयोजक धनबहादुर परियारको सभापतित्वमा सम्पन्न भएको थियो ।

अधिवेशनको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमका सभाध्यक्ष तथा स्टान बाँकेका संयोजक धनबहादुर परियारले शिक्षकको पेसागत हकहितका लागि संगठनको आवश्यकता बोध गरिएको बताए । विज्ञान शिक्षकको हक हित तथा विभिन्न तालिम, सेमिनार, विज्ञान प्रदर्शनीलगायत विविध कार्यमा स्टानले कार्य गरिरहेको उनको भनाइ थियो ।

निर्वाचित पदाधिकारी र सदस्यहरूलाई स्टान लुम्बिनी प्रदेशका संयोजक यमनाथ पौडेलले सपथ ग्रहण गराएका थिए । सो अवसरमा स्टान राप्ती सोनारीका गाउँपालिकाका अध्यक्ष पारसमणि आचार्य, स्टान बाँसगढीका सदस्य झग्गुप्रसाद ओली, कोहलपुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा विज्ञान विषय अध्यापन गर्ने ३५ जना शिक्षकहरूको उपस्थिति रहेको थियो ।

सपथ ग्रहण कार्यक्रमपछि प्रमुख अतिथिले निर्वाचित सबैलाई बधाई तथा शुभकामना सहित स्टानको केन्द्रमार्फत भएका गतिविधिबारे जानकारी गराएका थिए । नगठित स्टान कोहलपुर नगर समितिका अध्यक्ष रानाले नवगठित कार्यसमितिले विज्ञान शिक्षकको पेसागत हकहितलगायतका विभिन्न तालिम सञ्चालनका लागि पहल गर्ने बताए ।

पालिकासँग सहकार्य गरी समाजले शिक्षक तालिम तथा विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कुरामा सक्रिय रूपले पहल गर्ने प्रतिबद्धता जनाए । सो अधिवेशनले रानाको उपाध्यक्षमा ग्रिन पिस मावि चप्परगौढीका तपेन्द्रप्रसाद खनाल, सचिवमा त्रिभुवन मावि कोहलपुरका सरोजबाबु पंगेनी, सहसचिवमा श्री कृष्ण मावि कौशिलानगरका घनश्याम जिसी, कोषाध्यक्षमा बालशिक्षा मावि भरैयाका मदन भण्डारीलाई चयन गरेको छ ।

त्यसैगरी समाजका सदस्यहरूमा लक्ष्मी मावि बर्दहवाका जनकराज उपाध्याय, जनचेतना मावि गोहवाका आशिष विक, सरस्वती मावि पिपरीका गिरिराज न्यौपाने, जनज्योति आवि झन्डहवाका पारस ढुंगेल, श्रीराम आवि हवल्दारपुरका अमित चौधरी, श्री नेराआवि चौधरियाका बरुणकुमार यादव, श्री शिवशक्ति आवि प्रेमनगरका राम कृष्ण यादव, श्री नेरामावि खड्गवारका कमलापति पराजुली र श्री ज्ञानज्योति मावि चप्परगौढीका सविता लम्साल चयन भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार