बैजनाथ महोत्सवको तयारी तीव्र



बाँके।
प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक औगोगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव २०८० को तयारी तीव्र पारिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथको आयोजनामा माघ १० गतेदेखि हुन गइरहेको महोत्सवको तयारी तीव्र पारिएको हो । बुधबार आयोजकले पत्रकार सम्मेलन गरेर महोत्सवका लागि आवश्यक तयारी अगाडि बढाइएको जानकारी दिएको थियो ।

माघ १० गतेदेखि २१ गतेसम्म बैजनाथ गाउँपालिका–५ स्थित कोहलपुर न्युसिटीमा महोत्सवको आयोजना गर्न लागिएको प्रचारप्रसार संयोजक सुमन विश्वकर्माले जानकारी दिए । महोत्सव सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति प्राप्त भएसँगै तयारी अगाडि बढाइएको उनले बताए । ‘कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृतिको पहिचान ः विकास र समृद्वि बैजनाथको अभियान’ भन्ने मूल नाराका साथ बैजनाथमा पहिलोपटक महोत्सव गर्न लागिएको प्रचारप्रसार संयोजक विश्वकर्माले दाबी गरे ।

महोत्सवले बैजनाथमा रहेका कला, संस्कृति, भेषभूषा, मौलिक तथा सांस्कृतिक महत्व बोकेका विविधतायुक्त झाँकी, बाजा, परम्परागत पेसा, सीपलगायतका कुराहरूलाई राष्ट्रिय स्तरमा पहिचान सहयोग गर्ने महासंघ बैजनाथका अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा २ सय वटा नवीनतम् प्रविधिजन्य उत्पादनहरू, महिलाद्वारा सञ्चालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरू प्रमुख आकर्षणका रूपमा रहनेछन् ।

महोत्सवका मुख्य आकर्षणहरूमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरूबाट उत्पादित बस्तु एवं सामग्रीहरू र लुम्बिनी प्रदेशको मौलिक कला संस्कृति, कृषि उत्पादन एवं प्रविधिको, स्थानीय पर्यटकीय स्थलको जानकारीमूलक र महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामग्री एवं बस्तुहरूको प्रदर्शनी रहेका छन् ।

त्यसैगरी, सांस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलापहरू, थारू परिकार तथा सम्बन्धित सांस्कृतिक झाँकीहरू, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसमेत रहेको आयोजक घरेलु महासंघ बैजनाथले जनाएको छ । स्थानीय उत्पादनलाई महोत्सवमा पहिलो प्राथमिकता दिइने आयोजक घरेलु महासंघ बैजनाथका महासचिव कमल सुवेदीले जानकारी दिए ।

महोत्सवमा आउने राष्ट्रिय कलाकारहरूको करिब टुङ्गोसमेत लागिसकेको उनले बताए । महोत्सवको सह–आयोजकमा वडा नम्बर ५ रहेको छ भने संरक्षणमा बैजनाथ गाउँपालिका रहेको छ । व्यवस्थापन भने जय माता दी एम्युजमेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि बुटवलले गर्नेछ ।
१२ दिनसम्म सञ्चालन हुने महोत्सवको २ लाख बढी दर्शकहरूले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ ४ गते बिहीबार