20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

फर्जी खेलाडी प्रकरण प्रतिवेदन सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ ४, २०८०  

कोहलपुर।
कोहलपुर नगरपालिकाले आयोजना गरेको सातौं नगरस्तरीय मेयर कप तथा १६औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा विद्यालयहरूले फर्जी खेलाडी खेलाएको भन्ने विषयमा सत्यतथ्य छानबिन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । कोहलपुर नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बीच समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले प्रतिवेदन सावर्जनिक गर्दै प्रतियोगितामा सहभागिता जनाएका विद्यालयमध्ये ६ वटा विद्यालयले फर्जी खेलाडीसम्बन्धी अनियमितता गरेको निष्कर्ष निकालिएको जानकारी दिए ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खड्कवारले छात्रतर्फको भलिबल प्रतियोगितामा फर्जी खेलाडी खेलाएको पुष्टि भएको छ । त्यसैगरी ज्ञानज्योति मावि चपरगौडीले पनि छात्रतर्फको भलिबल खेल प्रतियोगितामा फर्जी खेलाडी खेलाएको समितिले निष्कर्ष निकालेको छ ।
यस्तै एभरेष्ट सैनिक मावि प्रेमनगरले पनि छात्रतर्फको भलिबलमा फर्जी खेलाडी खेलाएको पाइएको समितिले निष्कर्ष निकालेको छ ।

यस्तै ग्रिन पिस सेकेन्डरी स्कुल चपरगौडीले चार सय मिटर दौडमा ओभर एजको खेलाडी सहभागी गराएको र त्रिभुवन उच्च मावि कोहलपुरले ३ हजार मिटर दौडमा फर्जी खेलाडीलाई सहभागी गराएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । सगरमाथा ज्ञानपुञ्ज मावि किरणनालाले पनि छात्र भलिबलमा फर्जी खेलाडी खेलाएको उजुरी समितिमा परेको थियो । यद्यपि सगरमाथा ज्ञानपुञ्जले फर्जी खेलाडी नखेलाएको भए पनि खेलाडीको समयमै सक्कल कागजात पेस गर्न भने विद्यालय असफल भएको समितिको प्रतिवेदनमा भनिएको छ । फर्जी खेलाडीसम्बन्धी अनियमितता गरेका विद्यालयलाई ३० हजार जरिवाना गरी दण्डित गरिनेछ ।

पुस १० गतेदेखि १३ गतेसम्म सञ्चालित उक्त प्रतियोगितामा फर्जी खेलाडीहरू खेलाइएको विषयमा उजुरी परेपछि कोहलपुर नगरपालिका शिक्षा समितिको पुस १४ गते बसेको बैठकले सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो । समितिमा नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापा, नगर प्रहरी प्रमुख वीरबहादुर थापा र शिक्षा शाखा अधिकृत रविलाल मिजार सदस्य थिए ।

कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघका प्रतिनिधि, प्याब्सनका प्रतिनिधिसहित बृहत भेलामा सार्वजनिक गरिएको उक्त प्रतिवेदन बुझ्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले प्रतिवेदन अक्षरंश कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । उनले नगरस्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितालाई मर्यादित बाउने सवालमा कसैसँग सम्झौता नगरिने चेतावनी दिए ।

प्याब्सन बाँकेका अध्यक्ष यम रावतले फर्जी खेलाडी खेलाएर पुरस्कार जित्ने संस्कार राम्रो नभएको भन्दै त्यस्ता विद्यालय तथा संलग्नहरूलाई कारबाही गरिनुपर्ने चेतावनी दिए ।

प्रकाशित मितिः बिहिबार, माघ ४, २०८०     9:26:44 AM  |