आज भूकम्प सुरक्षा दिवस मनाइँदै



काठमाडौं : आज भूकम्प सुरक्षा दिवस मनाइँदै छ। १९९० सालको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न दिवस मनाउन लागिएको हो।

भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउन दिनका रूपमा मनाउने गर्छन्। मंगलबार ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस मनाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

चन्द्रागिरी नगरपालिकामा भूकम्प सुरक्षा दिवस मूल समारोह हुने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरिक हुने प्राधिकरणले जनाएको छ। विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो। ८० हजार घर ध्वस्त भएका थिए।

  • No tags available
प्रकाशित मिति : २०८० माघ २ गते मंगलबार