मगर र थारू समुदायको माघी मिलन कार्यक्रम



कोहलपुर।
थारू कल्याणकारिणी सभा र नेपाल मगर संघ कोहलपुर नगर कमिटीको संयुक्त आयोजनामा कोहलपुरमा माघी मिलन कार्यक्रम गरिएको छ । माघीको पूर्वसन्ध्यामा आइतबार कोहलपुरस्थित हरियाली पार्कमा माघी मिलन तथा पिकनिक कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु चौधरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुबेदी, मगर संघ बाँकेका अध्यक्ष भूपेन्द्र पुनमगरलगायतको उपस्थिति रहेको थियो ।

सांसद चौधरीले समग्र नेपालीहरूको त्यसमा पनि थारू र मगर समुदायको विशेष पर्वका रूपमा मनाइने माघीको सबैमा शुभकामना व्यक्त गरेकी थिइन् । कार्यक्रममा मगर र थारू समुदायका संस्कृति झल्किने विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । सो अवसरमा माघीमा मगर र थारू समुदायमा खाइने खिचडी, अचार, ढिक्री, कचालु, तरुल, सखरखण्ड, सेलरोटीलगायतका परिकारले आगन्तुक पाहुनालाई स्वागत गरिएको मगर संघ कोहलपुर नगर कमिटीका सदस्य टेकबहादुर विरकट्टाले जानकारी दिए ।

सो अवसरमा खानपिनका साथै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा यस क्षेत्रका थारू तथा मगर समुदायका व्यक्तिहरू आ–आफ्नो भेषभूषासहित उपस्थित भएको विरकट्टाले जानकारी दिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८० माघ १ गते सोमबार