शिवु खनाल। देउखुरी।
नेपाल सरकारले घोषणा गरेको सय नयाँ पर्यटकीय गन्तव्यमध्ये एक हो, दाङको बगार बाबा धार्मिक विकास क्षेत्र रिहारधाम । प्राकृतिक हिसाबले निकै मनमोहक दाङको लमहीदेखि करिब २० किलोमिटर पश्चिममा पर्ने बगार बाबा धार्मिक क्षेत्र रिहार नामले चर्चित छ । ऐतिहासिक धार्मिक सम्पदाको साथै पर्यटनका लागि उपयुक्त गन्तव्यको रूपमा विकास हुँदै गरेको रिहारमा माघीमा एक हप्ता दर्शनार्थीको घुइँचो हुन्छ ।
विशेष गरी पुस मसान्तको रातभर र माघेसङ्क्रान्तिको दिनभर ठूलो मेला लाग्ने रिहारमा दाङका सम्पूर्ण क्षेत्रका साथै छिमेकी जिल्ला र भारतबाट समेत भक्तजन आउँछन् । माघे सङ्क्रान्तिको अवसरमा दाङको रिहारमा मेला सुरु भएको छ । लमही नगरपालिका–९ रिहारस्थित बगार बाबा धार्मिक विकास क्षेत्र रिहार मेलामा पूजाआजा र मेला भर्न छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरूको घुइँचो लागेको छ । पूजापाठका लागि विशेषगरी भारतको श्रावस्ती र बलरामपुर जिल्लाबाट भारतीय तीर्थालुहरू माघ १ गते रिहार मेलामा आउने गरेका छन् ।
गढवा गाउँपालिका–८ कोइलाबास नाका र अन्य खुला सीमा नाका हुँदै भारतीय भक्तजनहरू यहाँ आइपुग्छन् । रिहारको मेलामा ८० प्रतिशत भक्तजन भारतका विभिन्न जिल्लाबाट आउने गरेको बगार बाबा धार्मिक विकास क्षेत्रका अध्यक्ष रविन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, मन्दिरमा पूजा गर्न, र खिचडी खान उनीहरू यहाँ आउने गरेका छन् ।
अन्य वर्षको तुलनामा यस वर्ष मेलालाई व्यवस्थित बनाइएको उनको दाबी छ । सार्वजनिक रूपमा दिसा, पिसाब गर्न प्रतिवन्ध लगाइएको छ । रिहार धामको इतिहास झन्डै ५ हजार वर्ष पुरानो रहेको बताइन्छ । द्वापर युुगमा ऋषिमुुनिहरूले विहार गरेको हुुँदा यो ठाउँको नाम ऋषिविहारबाट रिहार रहन गएको धार्मिक विश्वास छ । प्राकृतिक सौन्दर्यले भरिएको रिहारमा द्वापर युुगमा ग्वालाहरूले गाई चराउने र गाईले बगार बाबालाई दूुध चढाउने गरेको किम्बदन्ती रहेको छ ।
रिहार धाम १ सय हेक्टरको क्षेत्रफलमा फैलिएको छ । यादव र थारू जातिका समुुदायका मानिसहरू पुुजारी रहने रिहारमा बगार बाबासहित अन्य देव देवीका मन्दिरहरू पनि छन् । भैने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता धार्मिक संरचना छन् । धार्मिक आस्थाको केन्द्र रिहारमा बगार बाबाको पूजा गरिन्छ । बगार बाबा खुसी भएमा सन्तान र सम्पत्ति लाभ हुुन्छ भन्ने धार्मिक विश्वास राखिन्छ ।
हरेक वर्ष माघेसङ्क्रान्तिको अघिल्लो दिनदेखि एक सातासम्म मेला लाग्ने रिहारमा सूर्य र तप्त दुई कुण्ड छन् । भारतका विभिन्न स्थानहरूबाट बगार बाबासँग आशीर्वाद लिन आउनेहरू तप्तकुण्डमा स्नान गर्छन् । माघको चिसोमा पनि तातो हुने यो कुण्डमा दाल, चामल र नुन राखी एउटा टालोमा बाँधेर राखिदिए खिचडी पाक्ने विश्वास गरिन्छ ।
रिहार मेलामा ढुंगो बोक्ने होडबाजी
रिहारमा माघे संक्रान्तिका दिन यहाँ ढुंगो उचाल्नेहरूको होडबाजी लाग्ने गर्छ । यो प्रचलन वर्षौंदेखि चल्दै आएको छ । रिहार मेलामा बगार बाबा ढुंगो उचाल्नेहरू वीर र सफल व्यक्तिका रूपमा दरिन्छन् भन्ने विश्वास रहँदै आएको छ । यहाँ रहेको यो ढुंगो बोकेर बगार बाबा मन्दिरको परिक्रमा गर्न सक्ने हो भने इच्छाएको कुरा पूरा हुन्छ भन्ने मत रहेको लमही नगरपालिका–५ लमही निवासी पवन शर्मा रिजालले बताए ।
प्रकाशित मिति : २०८० माघ १ गते सोमबार
प्रतिक्रिया दिनुहोस्