नेपालगन्ज।
बाँके र बर्दियाका पर्यटकीय गन्तव्यको खोजी गर्दै त्यसका समस्या, चुनौती र समाधानका बारेमा चिन्ता र चासो व्यक्त गरिएको छ ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा नाट्टा बाँके च्याप्टरले आयोजना गरेको पर्यटकीय गन्तव्य बाँके बर्दिया समस्या चुनौती र समाधान विषयक कार्यशालामा यस्तो चिन्ता र चासो व्यक्त गरिएको हो ।
कार्यशालामा बोल्दै पर्यापर्यटन मञ्च बर्दियाका अध्यक्ष कृष्ण भटराईले संसारका घुम्नैपर्ने ठाउँमध्ये बर्दियालाई समावेश गरिए पनि सरकारी तवरबाट बर्दियामा पर्यटकहरू भित्राउनका लागि कुनै किसिमको सहयोग नभएको गुनासो गरे । उनले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती, गैँडाजस्ता जंगली जनावर देखेर विदेशी पर्यटकहरू पटक–पटक बर्दिया आउने गरे पनि त्यसरी आउने पर्यटकहरूलाई थप आकर्षण गर्ने खालका कार्यक्रम ल्याउन नसकिएको गुनासो गरे ।
कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी देवानन्द अर्यालले विदेशी पर्यटकहरूलाई हवाई भाडामा असमानताका कारण पनि विदेशी पर्यटकहरू नेपाल आउन नचाहेको उल्लेख गरे । उनले विदेशी पर्यटकहरूलाई आकर्षण गर्नका लागि हवाई भाडाको असमानतालाई हटाई घुम्न आउने भारतीय गाडीहरूलाई भन्सार छुटजस्ता प्याकेज ल्याउन सके विदेशी पर्यटक आउन सक्ने बताए ।
नेपालगन्जलाई क्यासिनो हबसँग जोडेर तत्काललाई हप्तामा १ पटक नेपालगन्जबाट कर्णाली चिसापानी र ठाकुद्वारामा पर्यटक बसको व्यवस्था गरी घुम्ने योजना बनाउन सके स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने उनको भनाइ थियो । सो कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले नेपालगन्जसँगै आसपासका पर्यटकीय गन्तव्यहरूलाई पर्यापर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको बताए ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालीकाकी उपप्रमुख संगीता सुबेदी, राप्ती सोनारी गाँउपालिकाका अध्यक्ष तप्त पौडेल, पर्यापर्यटन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठलगायतले आ–आफनो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्