नेपालगन्ज।
चिसो बढेसँगै स्थानीय जात अर्थात् लोकल जातका कुखुरा किनबेच बढेको छ । नेपालगन्ज लोकल कुखुराको मूल्य प्रतिकिलो आठ सयसम्म पुगेको छ । जबकि बोइलर कुखुरा प्रतिकिलो ३ सय ८० र कोइलरको प्रतिकिलो ५ सयको हाराहारीमा छ । व्यवसायीहरूले खोरमा पालेको र खुला छाडेर पालेको लोकल कुखुराको मूल्यमा पनि ५० रुपैयाँ फरक पार्ने गरेका छन् ।
खोरमा भन्दा खुला छाडेको कुखुराको मासु राम्रो हुने गरेको छ । गाउँमा उत्पादन भएका यस्ता कुखुरा खरिदकर्ताहरूले नेपालगन्जमा ल्याएर बेच्दै आएका छन् । उनीहरूले धम्बोझी चोकलगायतका ठाँउमा बेच्ने गरेका छन् । चिसोमा लोकल कुखुराको झोल खान रुचाउनेहरू अत्यधिक हुने भएकाले यसको माग बढेको कुखुरा व्यवसायी संघ बाँकेले जनाएको छ ।
तर स्थानीय जातका कुखुरा भने बिरलै मात्रामा पाइन्छ । स्थानीय जातका कुखुराबाट आम्दानी हुन लामो समय कुर्नुपर्ने तर उन्नत र ब्रोइलर कुखुराबाट छिटो आम्दानी हुने भएकाले पनि स्थानीय जातका कुखुरामा कमी आउन थालेको हो । सहरमा मात्रै होइन, दुर्गम क्षेत्रका गाउँबस्तीमा समेत ब्रोइलर, कोइलर र गिरिराज जातका कुखुराको चल्ला ल्याएर पाल्न थालेपछि स्थानीय जातका कुखुरामा कमी हुँदै आएको छ ।
स्थानीय जातका कुखुरा महँगो पर्नाका साथै हुर्कनका लागि समय लाग्ने भएकाले लेयर्स, ब्रोइलर, कोइलर, गिरिराज जातका कुखुरापालनप्रति किसानको आकर्षण बढेको छ ।स्थानीय जातको कुखुराको माग अत्यधिक हुने भए पनि उत्पादन हुन धेरै समय लाग्ने भएकाले स्थानीय जातका कुखुरापालनमा कृषकको आकर्षण कमी आएको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्