भालुवाङ बस दुर्घटनाः पुलबाट बस खस्दा १२ जनाको निधन, २४ घाइते



नेपालगन्ज। 
नेपालगन्जबाट काठमाडौँका लागि छुटेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति १० बजेतिर दाङको भालुवाङस्थित राप्ती नदी पुलबाट बस्दा १२ जनाको निधन र २४ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको बाँकेलगायतका अस्पतालमा उपचार भइरहेको छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगन्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौंडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौँ चन्द्रागिरी नगरपालिका–१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का–९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन र रुकुम गोतमकोट निवासी २५ वर्षीय दीपक कामीको सनाखत भएको छ ।

यस्तै, भारत बिहार निवासी ६७ वर्षीय योगेन्द्र राम, भारत उत्तरप्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा–३ खजुरा निवासी २५ वर्षीय सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका–२५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम शिल्पकार र बाँके खजुरा गाउँपालिका–३ निवासी २८ वर्षीय अर्जुन थापाको पनि सनाखत भएको छ ।

लमही अस्पतालमा पोष्टमार्टमपछि पार्थिव शरीर परिवारको जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ । बसमा चालकसहित ३७ जना सवार थिए । जसमध्ये २४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । महिला ६ र पुरुष १८ जना घाइते छन् । घाइतेमध्ये चौराहा हस्पिटल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक भालुवाङमा एक, प्रास्तावित भालुवाङ अस्पतालमा एक जना बिरामीको उपचार जारी छ । जसमध्ये चार जना गम्भीर छन् ।

प्रहरीले बस चालक सल्यान त्रिवेणी गाउँपालिका–४ निवासी २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार चालक नेपालीले बस गुड्दागुड्दै पट्टा भाँच्चिएर चक्का नघुमेपछि अनियन्त्रित भएर नदीमा खसेको भनेका छन् । बस मानवीय त्रुटिका कारण दुर्घटना भयो कि प्राविधिक कमजोरीका कारण भन्नेबारे अनुसन्धान भइरहेको एसपी केसीले बताए ।

इलाका प्रहरी कार्यालय भालुवाङका इन्स्पेक्टर उज्ज्वलबहादुर सिंहले आफूहरू पुग्दा अगाडिको भाग पानीमा र पछाडिको भाग बगरमा रहेर दुर्घटनाग्रस्त अवस्थामा रहेको बताए । उनका अनुसार बस उल्टो परेर पल्टिएका कारण बसभित्र रहेका यात्रुहरूलाई उद्धार गर्न निकैबेर लागेको थियो । राति १० बजे दुर्घटना भएको बसबाट यात्रु निकाल्दा बिहानको ३ बजेको उनले बताए ।

दुर्घटनामा अस्ताइन महिला उद्यमी

भालुबाङमा भएको बस दुर्घटनामा परी नेपालगन्जको छापाखाना व्यवसायको पहिलो महिला उद्यमी कुसुम बस्नेतको निधन भएको छ । संघर्षशील एवम् अरूका लागि प्रेरणाको स्रोत बनेकी उनी पछिल्लो समय काठमाडौंमा बसोबास गर्थिन् । दश महिनापछि केही दिन अघि नेपालगन्जस्थित घर आएकी थिइन् । फेरि काठमाडौं फर्किने क्रममा भएको दुर्घटनामा उनको निधन भयो । बस्नेत महिला उद्यमी संघ नेपाल बाँकेका पूर्वअध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघको पूर्वकार्यसमिति सदस्य हुन् ।

बस्नेत २०६८ सालदेखि २०७० सम्म महिला उद्यमी संघ बाँकेको अध्यक्ष भएकी थिइन् । ६० वर्षीया बस्नेतले नेपालगन्जमा लामो समयदेखि छापाखानालगायत व्यवसाय सञ्चालन गर्दै आएकी थिइन् । पूर्वअध्यक्ष बस्नेतको निधनले अपूरणीय क्षति पुगेको महिला उद्यमी संघ बाँकेका अध्यक्ष साबित्रा बस्नेतले बताइन् । ‘उहाँको निधनले महिला उद्यमी संघ बाँकेमा ठूलो क्षति पुगेको छ,’ उनले भनिन् ।

पूर्वअध्यक्ष बस्नेतको निधनप्रति शोक व्यक्त गर्दै नेपालगन्जमा जारी लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनीमा शनिबार गर्न लागिएको सम्मान कार्यक्रम स्थगित गरिएको थियो । सफल महिला उद्यमी बस्नेतको निधनले ठूलो क्षति पुगेको नेपालगन्जका उद्योगी, व्यवसायीले बताएका छन् । सामाजिक सञ्जालमार्फत धेरैले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८० पुस २९ गते आइतबार