17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

असहायलाई खाना खुवाएर मनाइयो स्थापना दिवस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस २८, २०८०  

कोहलपुर।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, (नेशनल प्याब्सन)ले आफ्नो २६औँ स्थापना दिवस फरक ढंगले मनाएको छ । कोहलपुर नगरपालिका–५ मा अवस्थित नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा रहेका असहाय, विपन्न तथा ज्येष्ठ नागरिकलाई ३ छाक खाना खुवाएर स्थापना दिवस मनाएको हो ।

कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विकले पानसमा बत्ती बाली असहायका लागि फलफूल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अथितिसमेत रहेका विकले सामाजिक उत्तरदायित्व बहन गर्दै नेशनल प्याब्सनले गरेको कामको प्रशंसा गरे । नेशनल प्याब्सनले कोहलपुर नगरपालिकामा पु¥याएको शिक्षाको योगदान अतुलनीय रहेको उनको भनाइ थियो ।

एक जनाले मात्रै नभई सबैले एक एक रुपैयाँ सहयोग गरे असहाय, विपन्न तथा ज्येष्ठ नागरिकलाई राहत हुने बताए । कोहलपुर नगरपालिकाले पनि नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई ५ लाख रुपैयाँ सहयोग गर्दै आएको उनले जानकारी दिए । असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई खाना खुवाएर स्थापना दिवस मनाउन पाउँदा निकै गर्वको अनुभूति भएको नेशनल प्याब्सन कोहलपुर नगर कमिटीका अध्यक्ष विष्णुप्रसाद केसीले बताए ।

नेशनल प्याब्सनले सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय विपन्न तथा ज्येष्ठ नागरिकलाई भोजन खुवाएर स्थापना दिवस मनाएको जनाए ।
अन्य अनावश्यक फजुल खर्च गर्नुभन्दा त्यसबापत खर्च हुने रकम ज्येष्ठ नागरिकलाई खाना खुवाएर दिवस मनाइएको उनको भनाइ छ । आगामी दिनमा पनि नेशनल प्याब्सनले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता कार्य गर्ने प्रतिबद्धता जनाए । स्थानीय सरकारले हेर्नुपर्ने ठाउँमा नेशनल प्याब्सन कोहलपुर कमिटीले सह्रनिय काम गरेको भन्दै कोहलपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले कृतज्ञता प्रकट गरे ।

आगामी दिनमा नीलसागरले प्रस्ताव लिएर वडामा आए नैतिक, भौतिक र आर्थिक सहयोग गर्न आफू तयार रहेको श्रेष्ठले बताए । नेशनल प्याब्सन बाँकेले शिक्षामा मात्रै नभई समाजमा सबै पक्षमा उत्तरदायित्व वहन गर्ने काम गरेकोमा प्रशंसा गरे ।नेसनल प्याब्सन बाँके जिल्ला सचिव वेगप्रसाद चन्दले मानवसेवा नै धर्म भएको भन्दै व्यक्तिगत रूपमा ५ हजार रुपैयाँ नीलसागरलाई नगद सहयोग गरेका थिए ।

आश्रममा रहेका बुबाआमाका लागि दसैं, तिहार, तीज आएजस्तै भएको नीलसागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी सञ्चालक अन्जु न्यौपानेले बताइन् । नीलसागरमा अहिले ३५ जना असहाय, विपन्न तथा ज्येष्ठ नागरिक आश्रित रहेका छन् । सडकपेटीमा बेवारिसे अवस्थामा फेला परेकालाई उद्धार गरी संस्थामा ल्याइएको उनले जानकारी दिइन् ।

नेशनल प्याब्सनले २६औँ स्थापना दिवस मनाउन नीलसागर रोजेकोमा शुभकामना दिँदै आगामी दिनमा पनि जोडिन आग्रह गरिन् । साथै सो अवसरमा उपस्थित अथितिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

  

प्रकाशित मितिः शनिबार, पुस २८, २०८०     8:17:46 AM  |