नेपालगन्ज।
पश्चिम नेपालको प्रमुख शक्तिपीठ बागेश्वरी मन्दिरको छानो ताम्रपत्रले छाउने काम सुरु भएको छ । पर्यटन कार्यालय कोहलपुरको ४० लाखसहित आन्तरिक स्रोत एवम् सहयोग संकलन गरेर करिब ७५ लाख लागतमा उक्त काम सुरु गरिएको बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य एवम् मन्दिर सौन्र्दयकरण उपभोक्ता समितिका सचिव नारद पुरीले जानकारी दिए ।
उनका अनुसार मन्दिरको छानो ताम्रपत्रले छाउनुपूर्व गर्नुपर्ने काम अहिले भइरहेको छ । स्थानीय साधनस्रोतको प्रयोग गरी मन्दिरको जीर्ण अवस्थामा रहेको छतको टायल निकाल्न सुरु गरिएको छ । धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि मन्दिर व्यवस्थापन समितिले सौन्र्दयकरणसहित छतमा ताम्रपत्र लगाउने निर्णय गरेको पुरीले बताए । ‘टायल जीर्ण भएपछि अब के गर्ने त भन्ने छलफल गर्दा ताम्रपत्र लगाउने निष्कर्षमा पुगेका हौं,’ उनले भने, ‘त्यसपछि सहयोगदाताको खोजी गर्दै जाने क्रममा पर्यटन पूर्वाधार कार्यालयले सहयोग गरेको छ ।
अन्य सहयोग आन्तरिक र दाताबाट हुन्छ ।’ बागेश्वरी मन्दिरको सौन्र्दकरणमा यसले इट्टा थप्ने पुरीको भनाइ छ । नेपालगन्ज–२ मा अवस्थित बागेश्वरी मन्दिर यस क्षेत्रकै हिन्दू धर्मावलम्वीहरूको महत्वपूर्ण तथा पवित्र धार्मिक तीर्थस्थल हो । यहाँ हिन्दू समुदायका मानिसहरू दैनिक रूपमा पूजाआजा गर्न आउँछन् । हिन्दू धर्मावलम्बीहरूका अलावा अन्य धर्म मान्ने मानिसहरू पनि बागेश्वरी मन्दिर आउने गर्दछन् । बुद्धिष्ठ र शिखहरू सहजै मन्दिरभित्र पसी पूजाआजा गर्ने गर्दछन । यो मन्दिरको स्तरोन्नति हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्